‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदा तयार

सदरलाइन संवाददाता १७ फाल्गुन २०७९, बुधबार १६:०५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदामाथि बुधवार छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेड/एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि आज अन्तिम छलफल गरिएको हो । विभिन्न ६ वटा उपक्षेत्रहरुसहित तयार गरिएको मस्यौदामाथि ६ वटा कार्य समूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवालाहरु सबै एकै ठाउँमा संगै बसेर साझा खाका बनाई योजनाबद्धरुपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रुप दिन लागिएको हो ।

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यवसायिक शिक्षा, पर्यटन, कृषि लगायतका ६ वटा आर्थिक उपक्षेत्रीय पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेड÷एलपेडका परामर्शदाता डा.तेजहरि घिमिरेले बताए । त्यस्तै विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिबृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको उपभोग र प्रबद्र्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशन लगायतका विषयलाई समेटिएको घिमिरेले बताए ।

यसको कार्यान्वयनको लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताब गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा बाणिज्य संघ, सहकारी संघ, स्थानीय गैरसरकारी संस्था महासंघ, साना तथा घरेलु उद्योग महासंघ लगायत सदस्य रहने र सचिवालयको रुपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएको घिमिरेले जानकारी दिए । यस्तै नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रहने गरी अनुगमन संयन्त्र बनाइनेछ ।

यो रणनीति वि.स.२०८० देखि २१०० सम्म २० बर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । वि.सं. २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्याउने आकांक्षासहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रुपमा विकास गर्ने लक्ष्य पनि छ ।


नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारहरुलाई संगसंगै हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे । रिजालले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवम निवर्तमान नगर प्रमुख डा.धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार वटा पिलर भएको बताउँदै यी पिलरहरुको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले नेपालगञ्ज उपमहानगरपालिका आफैं विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताए । स्थानीय साझेदारहरुको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरुप लिने भन्दै उनले सबैको साझेदारीमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख प्रशान्त विष्टले २० बर्षको लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजनाहरु कार्यान्वयन गर्न सहज हुने भन्दै उनले स्थानीय अर्थतन्त्रलाई प्रबद्र्धन गर्दै आयात प्रतिस्थापनको महात्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताए ।

कार्यक्रममा परियोजनाका बारेमा जिआइजेड/एलपेडका रामचन्द्र लामिछाने, एजेण्डा र उद्देश्यहरुबारे क्रिश्चियन सून, भविष्यको कार्यदिशाबारे टिम लिडर दिप्ती खकुरेलले प्रस्तुतिकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत मञ्जु पाण्डेले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मालपोतमा कम राजश्व उठ्दा स्थानीय बजेट प्रभावित

१७ फाल्गुन २०७९, बुधबार १६:०५
नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ । मालपोतबाट लक्ष्यअनुसारको राजश्व प्राप्त नहुने भएपछि विभिन्न स्थानीय तहमा विनियोजित बजेट समेत प्रभावित हुने देखिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीले पछिल्लो समय […]

सम्बन्धित