मालपोतमा कम राजश्व उठ्दा स्थानीय बजेट प्रभावित

सदरलाइन संवाददाता १७ फाल्गुन २०७९, बुधबार १६:१०
 

नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ । मालपोतबाट लक्ष्यअनुसारको राजश्व प्राप्त नहुने भएपछि विभिन्न स्थानीय तहमा विनियोजित बजेट समेत प्रभावित हुने देखिएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीले पछिल्लो समय कार्यालयको कारोबार करिब ७५ प्रतिशतले न्यून भएको जानकारी दिए । “पछिल्लो समय कार्यालयमा कामको चाप अत्यधिक मात्रामा कमी भएको छ” कार्यालय प्रमुख नेपालीले भने, “पुँजीगत लाभकरसहित प्रदेश सरकार र स्थानीय तहमा पठाइने रकम घटेको छ । मालपोतमा सङ्कलित राजस्वको स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशत रकम भागवण्डा गरी वितरण गर्ने गरिएको छ ।

मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७८–७९ मा रजिस्ट्रेसन दस्तुरबापत ७६ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसैगरी सोही वर्षको पुस मसान्तसम्म ४४ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । तर चालु आवको ६ महिनाको तथ्याङ्कअनुसार राजस्व न्यून भएको छ ।


लेखा अधिकृत सञ्जीवनी सुवेदीले दिएको जानकारीअनुसार चालु आवको पुस मसान्तसम्म १९ करोड ५१ लाख रुपैयाँ सङ्कलन भएको छ । पुँजीगत लाभकर ९ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको छ । गत आवमा स्थानीय तहलाई करिब ४६ करोड रुपैयाँ मालपोतले पठाएकोमा यस वर्षको पुस मसान्तसम्म करिब ११ करोड ७० लाख रुपैयाँ मात्रै पठाइने भएको छ । गत आवमा सोही अवधिमा २६ करोड ४८ लाख रुपैयाँ पठाइएको थियो ।

मालपोत कार्यालयमा लिखत पास, राजीनामा, अंशवण्डा, हालसाबिक, मोही जग्गा बाँडफाँड, धितो रोक्का फुकुवालगायतका काम हुँदै आएकोमा सबै काम कम भएको छ । आर्थिक मन्दीसँगै कित्ताकाट रोकिएको, जग्गाको वर्गीकरणमा भएको ढिलाइ र लामो सरकारी बिदाका कारण पनि मालपोतको काम प्रभावित भएको कर्मचारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हवाई यातायातको सुरक्षामा सरकार गम्भीर छ : मन्त्री किराती

१७ फाल्गुन २०७९, बुधबार १६:१०
नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार सो विषयमा गम्भीर रहेको […]