भेरी अस्पतालमा बिरामीको चाप थामि नसक्नु

सदरलाइन संवाददाता १५ फाल्गुन २०७९, सोमबार १३:४५
 

नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको चाप दोब्बरले वृद्धि भएको छ । दैनिक ५ सयसम्म बिरामी पुग्ने भेरी अस्पतालमा पछिल्लामा दिनहरुमा उपचारका लागि पुग्ने बिरामीको संख्या ९ सय ५० सम्म पुग्न थालेको छ ।

बिरामीहरुको चाप बढ्दा चेकजाँचका लागि पर्चा बनाउन र विमा सुविधा लिन बिरामीहरु घण्टौं लाइन लाग्नुपर्ने बाध्यता भएको उपचारका लागि लाइनमा बसेकी बिरामी सुनिता यादवले बताइन् । निजी स्वास्थ्य संस्थाहरुमा विमाबाट उपचार सेवा बन्द भएका कारण विरामीको चाप भेरी अस्पतालमा बढ्दै गएको हो ।

पछिल्ला दिनमा आकस्मिकरुपमा बिदा धेरै हुँदा पनि बिरामीहरु अस्पताल खुलेकोको दिन पर्खिएर अस्पतालमा पुग्ने गरेका छन् । विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार सेवा भएका कारण बिरामीको विश्वास बढ्दै गएका कारण अस्पतालमा चाप बढेको भेरी अस्पतालका प्रमुख डा. बद्री चापाचाईंले बताए । चाप धेरै हुँदा बिरामीले राम्रोसँग उपचार सेवासमेत पाउन सकेका छैनन् । बिरामीलाई सहज रुपमा उपचार सेवा दिनका लागि भेरी अस्पतालमा ४० जना विशेषज्ञ चिकित्सक छन् ।


तर, भवनको अभाबका कारण ओपीडीमा बिरामीलाई उभिने ठाउँ पाउनसम्म हम्मे—हम्मे पर्ने गरेको छ । इमर्जेन्सी वार्ड, अप्रेशन थियटर र प्रयोगशालाका संचालनका लागि ठाउँको अभाव हुँदा बिरामीहरुलाई समयमै सहज रुपमा उपचार सेवा दिन समस्या परेको डा. चापागाईंले बताए । पश्चिम नेपालको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालले मुटु, स्त्री तथा प्रसुती, चर्म, दन्तरोग, हाडजोर्नी, नाक कान घाटी, सर्जरी, मेडिसिन, नसा रोग, मुत्र रोग, मिर्गौला रोग, बालरोग, मानसिक रोगलगायतका एक दर्जनभन्दा बढी किसिमको रोगका बिरामीहरुका लागि विशेषज्ञ सेवा दिँदैं आएको छ ।

भेरी अस्पताललाई ५ सय शैय्याको अस्पताल बनाउने घोषणा गरिएको तीन बर्ष बितिसके पनि हाल १ सय ६२ शैय्या मात्रै सञ्चालनमा छ । अस्पताल परिसरमै निर्माण शुरु भएको २ सय ४० शैय्याको नयाँ भवनको निर्माण कार्य पूरा नहुँदासम्म बिरामीहरु यस्तै सास्ती खेपेर उपचार गराउन बाध्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै

१५ फाल्गुन २०७९, सोमबार १३:४५
रुकुमपूर्व : लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका विरुवा रोपिने भएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र प्रदेश सांसदहरूको उपस्थितिमा विरुवा रोपिन लागेको हो । डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा भोलि मङ्गलबार एकै दिन जिल्लाको विभिन्न ठाउँमा गरी सोह्र हजार […]