एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै

सदरलाइन संवाददाता १५ फाल्गुन २०७९, सोमबार १३:५१
 

रुकुमपूर्व : लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका विरुवा रोपिने भएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र प्रदेश सांसदहरूको उपस्थितिमा विरुवा रोपिन लागेको हो ।

डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा भोलि मङ्गलबार एकै दिन जिल्लाको विभिन्न ठाउँमा गरी सोह्र हजार दाँते ओखर रोपिँदैछ । प्रशस्त हाडे ओखर पाइने यस जिल्लामा पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, स्थानीय सरकार र डिभिजन वन कार्यालयले टर्कीका दाँते ओखर कृषकलाई निःशुल्क रूपमा विरुवा वितरण गरिरहेको छ ।

दाँते ओखरबाट कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले डिभिजन वन कार्यालयले पनि गत वर्षदेखि कृषकलाई ठूलो मात्रामा निःशुल्क दाँते ओखरका विरुवा वितरण गर्दैआएको हो । यसवर्ष भर्खरै जुम्लाबाट ल्याइएको एक हजार सात सय ३५ दाँते ओखर लगाइसकिएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताए ।

माग सङ्कलनका लागि सूचना गरिएको थियो, उक्त सूचनापछि कृषकले माग गरेबमोजिम उन्नत जातको दाँते ओखरका विरुवा कार्यालयले खरिदगरी कृषकलाई निःशुल्क वितरण भइरहेको खड्काले जानकारी दिए । एक हजार पाँच सय मिटरदेखि माथिको उच्चाइमा हुने टर्कीका फर्नर जातको दाँते ओखर मङ्गलबार जिल्लाका विभिन्न ठाउँमा लगाउन लागिएको डिभिजनल वन अधिकृत खड्काले बताए ।


मङ्गलबार लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री चौधरी, लुम्बिनी प्रदेश सभाका सांंसद्हरू सुरुल पुन मगर, दिलकुमारी बुढा मगर र सरिता पुन मगर एवम् जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिकाका अध्यक्षहरूले ओखर रोप्ने कार्यक्रम रहेको छ ।

वनमन्त्री चौधरीले सदरमुकाम स्थित सिस्ने गाउँपालिका –५ रुकुमकोट, तीनै जना प्रदेश सांसद्हरूले पुथाउत्तरगङ्गा गाउँपालिका –१३ पिपलटुङ, जिसस प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका –३ झुम्लाबाङ र तीन वटै गाउँपालिकाका अध्यक्षले सम्बन्धित गाउँपालिकामै ओखर रोपेर कार्यक्रम उदघाटन गर्ने कार्यक्रम रहेको डिभिजनल वन अधिकृत खड्काले बताए ।

वन मन्त्री, सांसद् र जिसस प्रमुख तथा गाउँपालिका अध्यक्षले मङ्गलबार विहान ८ बजे ओखर रोपेर उद््घाटन गरेपछि जिल्लास्थित विभिन्न वडाका कृषकले वन कार्यालयले दिएको निःशुल्क विरुवा आफ्नो जग्गामा विरुवा रोप्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली डिष्टिलरीको फोहोरका कारण स्थानीय समस्यामा

१५ फाल्गुन २०७९, सोमबार १३:५१
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिष्टिलरी प्रालिबाट निस्कने फोहोरको प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानव जीवनमा प्रतिकूल असर पारेको छ । स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहरको दुर्गन्धले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याएको छ । […]