स्वदेशी उत्पादनलाई पनि प्रहरीले पक्राउ गरि भन्सार बुझाउँदै गरेको खुलासा

सदरलाइन संवाददाता ९ फाल्गुन २०७९, मंगलवार १४:२५
 

नेपालगञ्ज : आफूले उत्पादन गरेको गहुँ, धान, तोरी लगायतका सामान सदरमुकाम नेपालगञ्ज ल्याएर बिक्री गर्न खोज्दा बाँके प्रहरीले कम्दी पुलबाट नियन्त्रणमा लिएर भन्सारलाई बुझाउने गरेको भन्दै नरैनापुरका स्थानीयले गुनासो छन् ।

सोमबार स्थानीय किसानहरु नरैनापुर गाँउपालिकामा पुगेपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह संगै ति किसानहरु नेपालञ्ज आएर प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीसँग छलफल गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा रोक नलगाउन आग्रह गर्दै भारतबाट तस्करी गरी यदि ल्याइएको हो, भने सिमामा नै नियन्त्रण गर्न आग्रह गरेका थिए ।

स्थानीय कृषक मुबारक अलि शेखले आफूहरुले उत्पादन गरेको धान, गहुँ बिक्रीका लागि नेपालगञ्ज पुग्नै लाग्दा पक्राउ गर्ने प्रहरीहरुले यदी तस्करी कै समान हो भने सिमामा किन पक्राउ गर्दैन ? आफूहरुले उत्पादन गरेको गहुँ लगायत खाद्यवस्तु आफ्नो देशमा बिक्री नगरेर कहाँ गर्ने ? भारतको सिमामा बसेका कारण हामीहरु कहिले सम्म सुरक्षाकर्मीहरुबाट पीडित हुनुपर्ने हो ? आफूहरु बिक्रीका लागि नेपालगन्ज ल्याएको गहुँ लगायतका खाद्यवस्तु भारतीय हो भन्ने प्रमाणित गर्ने आधार के हो ? भन्दै प्रजिअ र सुरक्षा अधिकारीसँग प्रश्न गरेका थिए ।

त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सहकारी दर्ता गरेर स्थानीय स्तरमा उत्पादन भएको सामान बिक्री गर्न सुझाव दिएका थिए । प्रजिअ आचार्यले स्थानीय उत्पादनलाई बजार सम्म ल्याउन समस्या नरहेपनि सहरकारीमार्फत कारोबार गरे अझ राम्रो हुने भएकोले कानुनको अधिनमा रही कारोबार गर्न सुझाव दिदै दर्ता गर्न १० दिन जति समय लाग्ने भएकोले सो अवधिसम्म प्रहरीले स्थानीय उत्पादनमा कुनै अवरोध नगर्ने अश्वासन दिएका थिए ।

गाउँपालिका अध्यक्ष शाहले किसानलाई बिभिन्न बहानामा दुःख दिन नहुने बताउँदै उनले भारतबाट यदी तस्करी भईरहेको छ, भने सिमामा कडाई गर्न प्रजिअ आचार्यलाई सुझाव दिए । अध्यक्ष शाहले स्थानीय उत्पादनलाई आफनै नेपालमा बिक्री गर्न रोक लगाउनु चिन्ताको विषय भएको बताउँदै बाँके प्रशासनलाई जनताप्रति गम्भिर बन्न आग्रह गरे ।


उनले स्थानीय स्तरमा कृषि प्रबर्द्धनका लागि ऐन, नीति, निर्देशिका तयार पार्ने, कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्र मैत्री नीति बनाउने, निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी–साझेदारी संयन्त्र बनाउने र संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोध हटाउन र प्रमुख उत्पादन क्षेत्र जोड्न पहलगर्ने प्रतिवद्दता जनाए ।

बाँकेका प्रहरी प्रमुख(एसपी) सन्तोषसिंह राठौरले किसान आफै आफूले उत्पादन गरेको गहुँ लगायत खाद्यवस्तु बिक्रीका लागि बजार आउने गरेको कुरा आफ्नो लागि नौलो कुरा भएको बताए । कानुनको अधिनमा रही बिक्री गर्न उनले सुझाव दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जमुनाहा नाकाबाट करोडौँ मूल्यको सामान दैनिक रुपमा नेपाल भित्रिदा प्रहरीले नियन्त्रण गर्न नसक्ने तर स्थानीय उत्पादन बजारसम्म पुग्न लाग्दा भारतबाट तस्करी गरेर ल्याएको भनि मुद्दा चलाउने प्रहरी र भन्सार कार्यालयको नियत ठिक नभएको बताए । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनका लागि सहयोग गर्न उनको आग्रह छ । भारतबाट यदि तस्करी भइरहेको छ, भने सिमामा नै नियन्त्रण गर्न र छोटी भन्सार स्थापना गर्नतर्फ भूमिका खेल्न सुझाव दिए ।

छलफलका क्रममा नरैनापुरका स्थानीय कृषक समेत रहेका अधिवक्ता विश्वजीत तिवारी, अर्का अधिवक्ता बलबहादुर चन्द, गाउँपालिकाका प्रेस सल्लाहकार आलम खान, अन्य पत्रकारहरु, सशस्त्र प्रहरी प्रमुख रमेश बिक्रम शाही, राजश्व अनुसन्धानका प्रमुख सुरेशराज जोशी, आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख सुदिश कुमार आर्याल, अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहन कुमार लगायतको सहभागिता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नाकामा छोटी भन्सार नहुँदा राजस्व संकलन प्रभावित

९ फाल्गुन २०७९, मंगलवार १४:२५
नेपालगञ्ज : बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न साइड नाकाहरूमा रहेका सात वटा छोटी भन्सार कार्यालयहरू करिब दुई दशक अघि सशस्त्र द्धन्दका बेला बन्द गरिएकोमा हालसम्म पुन स्थापना हुन सकेका छैनन् […]