‘अधुरा योजना सरकारको प्राथमिकतामा’

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १३:४९
 

नेपालगञ्ज : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना गरिएका स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वागतमा नेकपा (माओवादी केन्द्र) बाँकेले नेपालगञ्जमा कार्यकर्ता भेटघाट आयोजना गरेको थियो भने खजुरा गाउँपालिकाले गाउँपालिकामा स्वागत कार्यक्रम गरेको थियो ।

उहाँले मरिहत्ते गरेर ठेक्का लिने तर काम नगरेर बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई पनि दिन नसकिने बताए । “अधुरा छोडिएका र बीचमै अलपत्र पारिएका सबै ठूला–साना योजनाबारे सरकारले सूचना सङ्कलन गरिरहेको छ, अधुरा रहेका सबै योजना केही समयमै पूरा गराउने गरी अगाडि बढ्दै छौँ,” श्रेष्ठले भने ।


सरकारले कुनै पनि प्रकारका अनियमितता र जनतालाई समस्या पर्ने एवं ढिलासुस्तीलाई सहन नगर्ने प्रस्ट पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यो सरकारले जनताका लागि सधैँ स्मरणीय काम गरेर जाने बताए । माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकारलाई सबै दलको समर्थन रहेको हुँदा राष्ट्रिय सहमतिको सरकार भएकोले सोही प्रकारले सरकारले आफ्ना कामकारबाहीलाई अगाडि बढाइरहेको उनले बताए ।

खजुराको सडकलगायत हुलाकी राजमार्ग र अन्य विभिन्न योजनाको निर्माण कार्यलाई तत्काल तीव्र पारिने जनाउँदै श्रेष्ठले विकासका काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताए ।

खजुरामा आयोजना गरिएको स्वागत कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक डम्बर विकले खजुरामा पाँच वर्षमा पनि १८ सय मिटर सडकको निर्माण हुन नसकेको र नेपालगञ्ज–गुलरिया सडकको निर्माण पनि निकै सुस्त रहेको गुनासो गरेका थिए ।

यस्तै नेपालगञ्जमा आयोजना गरिएको कार्यकर्ता भेटघाटमा पनि वरिष्ठ नेता कार्यकर्ताहरूले गठबन्धन, सरकार र राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जथाभाबी फोहर फाल्नेसँग जरिवाना असुल्दै कोहलपुर

६ फाल्गुन २०७९, शनिबार १३:४९
नेपालगञ्ज : बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न शुरु गरिएको छ । शुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । “यो नगर हामी सबैको हो, नगर […]