सिमसार दिवसका अवसरमा राप्तीमा १० वटा गोही छाडिए

सदरलाइन संवाददाता १९ माघ २०७९, बिहीबार १४:२२
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका –१ स्थित राप्ती नदीमा छोडेकी हुन् ।

सो अवसरमा बोल्दै मन्त्री केसीले सिमसार क्षेत्रको पुनर्स्थापना आजको प्रमुख आवश्यकता भएको जनाउँदै सोही उद्देश्यले राप्ती नदीमा १० वटा घडियाल छाडिएको बताइन् । यसबाट प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा यसले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जनाउँदै उनले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताइन् ।

उनले भनिन, ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।

मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।


निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् ।

घडियाल राप्ती नदीमा छोड्ने कार्यक्रममा निकुञ्जका प्रमुख श्याम साह, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकृतलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यसअघि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा आजको आवश्यकता सिमसारको पुनः स्थापन भन्ने नारासहित एक अन्तरक्रिया पनि आयोजना गरिएको निकुञ्जले जनाएको छ । सहरी प्रदूषण र अतिक्रमण, गिटी–बालुवाजस्ता प्राकृतिक स्रोत–साधनको तीव्र दोहन र मानवीय जीवनचर्याको अति निर्भरताका कारण सिमसार क्षेत्र मासिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘मिडियाकर्मीले स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिनुपर्छ’

१९ माघ २०७९, बिहीबार १४:२२
नेपालगञ्ज : मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदैआएको भए पनि अब स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि नेपालगन्जमा बिहीबार आयोजित स्वास्थ्य प्रवर्धन सेवासम्बन्धी पैरवी कार्यक्रम सो कुरा बताउनुभएको हो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा गरिएको कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् । […]