सरसफाइ अभियान सफल पार्न ‘घरदैलो’

सदरलाइन संवाददाता २० फाल्गुन २०८०, आईतवार १४:३०
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्य वडाभित्रका प्रत्येक नागरिकको घरघरमा पुग्छन् । साँझबिहान जसो दलबलका साथ उी हरेक नागरिकको घरको ढोका ढोकामा पुगेर ‘घरदैलो’ गर्छन् । सरसफाइ अभियानमार्फत वडालाई फोहोरमैला मुक्त नमुना वडा बनाउनका लागि स्थानीय नागरिकलाई सचेतना फैलाउनु उनको मुख्य उद्देश्य बनेको छ ।

“हरेक व्यक्ति तथा हरेक घरले आफ्नो फोहर आफै उचित व्यवस्थापन गरे टोल त्यसै पनि फोहोररहित हुन्छ,“ बज्राचार्यले भने, “हरेक नागरिकले आफ्नो घर वरिपरि आफैँले सरसफाइ गरे टोल त्यसै सुन्दर र स्वच्छ हुन्छ ।“

’घर तथा टोल सरसफाइ राखौँ, जथाभाबी फोहोर नपालौँ, घर वरिपरि सफा र स्वच्छ बनाऔँ’ भन्दै हरेक घरमा साँझबिहान जनचेतनामूलक सन्देश लिएर पुग्ने गरेको उनले बताए । “हरेक घरमा पहिलोपटक जनचेतनामूलक सन्देश लिएर पुगिरहेका छौँ, उनले भने, “वडावासीलाई फोहोरमैला नगर्न, सार्वजनिक स्थानमा जथाभाबी फोहोरमैला नफाल्न सम्झाइरहेका छौँ, साथै यसका विरुद्ध पनि फोहोरमैला गरेमा फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनका बारेमा जानकारी गराउनुका साथै कारबाही समेत हुने कुरा सचेत गराएका छौँ ।“

वडालाई फोहोरमैला मुक्त नमुना वडा बनाउने उद्देश्यले थालिएको फोहोरमैला व्यवस्थापन अभियानमा वडामा रहेका सार्वजनिक सडक, बाटो, चोक, गल्ली, मन्दिर, मठ, मस्जिद, निजी जग्गा तथा घर जस्ता स्थानहरूको फोहोरमैला व्यवस्थापन सम्बन्धी गरिएको निर्णयका बारेमा स्थानीय नागरिकलाई सचेत बनाउन ‘घरदैलो’ अभियान सञ्चालन गरिएको वडाध्यक्ष बज्राचार्यको भनाइ छ ।


आफ्नो फोहोरमैला कसरी व्यवस्थापन गर्ने तथा वरिपरि कसरी सरसफाइ राख्ने तथा यदि फोहोरमैला गरेको पाइएमा के के कारबाही हुन्छ भन्ने विषयमा घरदैलोमार्फत् वडावासीलाई जानकारी गराउनुका साथै जानकारी गराउँदा गराउँदै पनि यसका विरुद्ध काम गरेको पाइएमा कारबाहीसमेत गरिँदै आएको उनले बताए ।

पहिलोपटक जथाभाबी फोहोरमैला फालेको पाइएमा ५ सय, अटेर गरी पटक–पटक फालेमा पाँच हजारसम्म जरिवाना लाग्ने तथा फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिमको कसुर अनुसार सजाय हुने व्यवस्था रहेको उनले बताए । यदि सचेत गराउँदा गराउँदै पनि पटक–पटक फोहोरमैला फालेको पाइएमा वडा कार्यालय, टोल विकास संस्था तथा उपमहानगरबाट पाउने/दिने सेवा सुविधा तथा सिफारिसबाट समेत वञ्चित गराइने व्यवस्था गरिएको वडाध्यक्ष बज्राचार्यले जानकारी दिए ।

जनचेतना, अनुगमन तथा कारबाहीसमेतको ‘घरदैलो’ अभियानमा वडामा रहेका १४ वटा टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा वडाका जनप्रतिनिधिको साथ रहेको उनको भनाइ छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा क्षयरोग उपचार केन्द्र सञ्चालन गरिने

२० फाल्गुन २०८०, आईतवार १४:३०
नेपालगञ्ज : पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ । बाँकेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको हो । राप्ती […]