सदरलाइनडटकम,
नेपालगञ्ज : चैत ४ गते फ्रान्सबाट नेपाल आएका बाँकेका ३ जना ब्यक्तिको पहिचान खुलेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी शुरु गरिएको थियो ।
सोही बिमानमा नेपाल आएका बाँकेका ३ जनाको पहिचान खुलेको हो । जसमध्ये दुई जनालाई क्वारेन्टाईनमा राखिएको छ । बाँकेका प्रहरी नयाब उपरीक्षक शिवबहादुर सिंहले दुई जना सम्पर्कमा आईसकेको र अन्य एकको पनि पहिचान खुलीसकेको बताए ।
दुई जनालाई महेन्द्र बहुमुखी क्याम्पस भित्र रहेको क्वारेन्टाईनमा राखिएको सिंहले बताए । साविकको प्रिपहवा गाविस वडा नं. ९, बनकटवा वडा नं. ६ र साईगाउ २ का तीनजना प्रहरीको सम्पर्कमा आएका हुन् ।
जसमध्ये एक जनालाई लिन प्रहरी परिचालन गरिएको उनले बताए । केन्द्रबाट आएको नागरिकता नम्बर भिडाउँदा तीन जना बाँकेकै रहेको पुष्टि भएपनि एक जनाको ठेगाना खुल्न सकेको छैन । यद्यपी उनी बर्दियाको हुनसक्ने प्रहरीको दावी छ ।