नेपालगञ्जमा बिहीवार चर्चित ब्याण्डका गायक अमृत गुरुङ गुञ्जिदै

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १३:५२
 

नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा बिहीबार चर्चित नेपथ्य ब्याण्डका अमृत गुरुङको स्वर गुञ्जायमान हुने भएको छ । मानवसेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रम अन्तरगत नेपथ्य लाइभ कन्सर्ट हुन लागेको हो ।

गायक गुरुङले बिहीवार आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट आयोजना गरिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

कन्सर्ट अवलोकन गर्नका लागि करिव ६ हजार दर्शक रंगशाला पुग्ने अपेक्षा गरिएको छ । सोही हाराहारीमा टिकट विक्री हुन लागेको र आज दिउँसो सम्म पनि टिकट विक्री गर्ने क्रम जारी रहने मानवसेवा आश्रमले जनाएको छ । आश्रमले कन्सर्ट अवलोकन गर्नका लागि प्रतिब्यक्ति १ हजार रुपैयाँ टिकट तोकेको छ । यस्तै बिद्यार्थीका लागि प्रतिब्यक्ति ५ सय रुपैयाँ तोकिएको छ ।


कन्सर्ट अवलोकनका लागि सबै दर्शकहरु साढे ५ बजेभित्र रंगशालामा प्रवेश गरिसक्नुपर्ने र बेलुकी ६ बजेदेखी ८ बजेसम्म कन्सर्ट चल्ने आयोजकले जनाएको छ । दर्शकले प्रयोग गर्ने सवारी साधनलाई रामलिला मैदानमा पार्किङ गर्ने ब्यवस्था मिलाइएको छ ।

चर्चित गायक गुरुङले माया, प्रेम लगायत मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु पनि कन्सर्टमा प्रस्तुत गर्नेछन् । आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

दानवीर एवं समाजसेवी जे.के. सिंहले मानवसेवा आश्रमको भवन निर्माणका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने महाअभियान सहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयको भवन बनाउन भूमिपुजन

२९ मंसिर २०७९, बिहीबार १३:५२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका १५ स्थित राष्ट्रिय आधारभुत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्न भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्याक्रमअन्तर्गत चालु आर्थिक वर्षमा करिब ४५ लाख लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो । उक्त भवनका लागि भूमिपुजन गरिएको छ । विहान पौने ९ बजे […]