नेपालगञ्ज : बाँकेमा यही जेठ १० गतेदेखि कोभिडविरुद्धको खोप अभियान पुनः शुरु हुँदैछ । स्थानीय तहको निर्वाचनका कारण कोरोना विरुद्धको खोप अभियान रोकिएको थियो ।
जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडामा यही जेठ १०, ११ र १२ गते १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिन लागिएको छ । बाँकेमा ४ लाख ४४ हजार ७६७ जनालाई पहिलो, दोस्रो र बुष्टर डोज दिने लक्ष्य लिइएको छ ।
हालसम्म पहिलो डोज खोप लगाउन ३८ हजार १६२ जना, दोस्रो डोज लगाउन १ लाख ११ हजार १८१ जना र २ लाख ९५ हजार ४२४ जनालाई बुष्टर डोज लगाउन बाँकी छन् । बाँकेको राप्तीसोनारीमा ५३ हनार ६९५, कोहलपुरमा ६३ हजार ५९४ जनालाई खोप लगाउने लक्ष्य छ ।
यस्तै बैजनाथ गाउँपालिकामा ३४ हजार ८७५, खजुरामा ४५ हजार ८७०, जानकीमा ३५ हजार ३८५ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकामा ८४ हजार ६५८, डुडुवामा २४ हजार २७ जना र नरैनापुरमा ३३ हजार ९ जनालाई खोप लगाउने लक्ष्य छ ।