बर्दियाका यी किशोरीहरु जो आफ्नै समुदायमा बालविवाहबिरुद्ध सचेतना फैलाउदै छन्

रुद्र सुवेदी १५ मंसिर २०७९, बिहीबार १९:०१
 

बर्दिया  :  ‘हाम्रो छोराले वा छोरीले मन परायो ल्यायो वा गयो अरुको घर भित्रको कुरामा तिमिहरु किन जान्ने हुने ? हाम्रो घरको कुरामा तिमिहरुलाई किन चासो ?’ भन्दै अभिभावक नै झगडा गर्न आउने गर्दा आफुहरुलाई कार्य क्षेत्रमा असहज हुने गरेकोले बर्दियामा बालविवाहले प्रसय पाउने गरेको सो क्षेत्रमा सक्रिय अभियन्ताहरुको अनुभव छ ।

बर्दिया बढैयाताल–८ नयाँबस्तीकी १५ वर्षिया हिमा खड्का बाल बिवाह बिरुद्धको अभियन्ता हुन । स्थानीय विद्याज्योती मावि कण्ठपुरमा कक्षा ११ मा अध्ययन गर्दै गरेकी उनी उमेरले सानै भए पनि उनले आफुलाई भने बालविवाह बिरुद्धको अभियन्ताको रुपमा आफ्नो गाउटोल छिमेकमा चिनाउन सफल भएकी छन् ।

तीन दिदीकी कान्छी बहिनी हिमा सुरुका दिनमा अत्यन्तै लजालु स्वभावकी उनी अहिले भने बालविवाहबिरुद्धको अभियन्ता हुँदै बालविवाह बिरुद्ध खरो उत्रिदै आएकी छन् । प्लान ईन्टरनेशन नेपालको सहयोगमा बी–गु्रपद्वारा सञ्चालन गरेको सिओसी केन्द्रमा सहभागी भएपछि उनी आफुमा धेरै परिवर्तन आएको बताउछिन ।

सिओसी केन्द्रमा सहभागी हुन थालेपछि भने बालविवाह सामाजिक अपराध हो भन्ने थाहापाएको बताउने उनी महिनावारीका विषयमा खुलेर बोल्न र आफुलाई परेको समस्या बारे कुरा राख्न सक्ने भएकी छिन् भने, महिनावारी त झन् प्रकृतिले महिला तथा किशारीहरुलाई दिएको सुन्दर उपहार जस्तो लाग्न थालेको छ उनलाई । उनी भन्छिन–‘महिनावारी हुँदा पहिला अरुलाई थाहा नहोस भन्ने लाग्थ्यो तर, अहिले भने यो समय संवेदनशिल हो भन्ने बुझेकी छु । त्यसैले यसको बारेमा आफ्नो उमेर समुहका अरुलाई पनि जानकारी गराउने गरेकी छु ।’

उनको घरगाउमा पहिला–पहिला बालविवाह हुने गरेको थियो पछि सिओसी केन्द्रमा सहभागि भएपछि उनीहरुले फैलाएको सचेतनाकै कारण समाजमा थोरैमात्रामा भए पनि परिवर्तन भएको उनको दाबी छ । ‘भागेर विवाह गरि जाने प्रचलन यहाँ अधिक थियो, सिओसी कार्यक्रम लागु भएपछि अलिकति भएपनि कम भएको छ,’–उनी भन्छिन्–‘सानो उमेरमा विवाह गरेपछि उत्पन्न हुनसक्ने शाररीक समस्याको बारेमा जानकारी भएपछि बाल विवाह कम हुन थालेको छ ।’

उनले गतवर्ष मात्र ३ वटा बालविवाह रोक्न आफुहरु सफल भएको स्मरण गर्दै भनिन–‘ हामीले गत वर्ष ३ वटा बालविवाह रोक्न सफल भएका छौ । केही ठाँउमा त हाम्रो छोराले मन पराएर ल्यायो तिमिहरुलाई किन केको चासो भनेर अभिभावक नै झगडा गर्न उत्रिनु भयो तर, पनि सम्झाई बुझाई रोक्न सफल भयौ ।’

चार्टड एकाउन्टेन्ट बन्ने उदेश्य बोकेकी हिमाले यतिबेला गाउमा आफुलाई अभियन्ताको रुपमा परिचित बनाई सकेकी छन् । किशोर–किशोरीलाई बढ्दो उमेरका कारण हुने शाररीक तथा मानसिक परिवर्तनहरुको बारेमा जानकारी गराउदै र आफ्नो भविश्य आफै बनाउने उपाय पनि सिकाउने गरेको उनी बताउछिन् ।

उनी भन्छिन–‘एक किशोरले उमेर नपुगी विवाह गर्दा आफु माथि आउने जिम्मेवारी निर्वाह गर्न सक्दैन । त्यसैगरी एक किशोरीको झनै शाररीक अवस्था परिपक्व हुँदैन । सानो उमेरमा विवाह गर्दा ठूलो दुर्घटना हुने संभावना अधिक हुने भएकोले बालविबाह गर्नु सामाजिक अपराध हो भन्ने बुझ्न आवश्यक छ ।’

हिमा लगायत उनका साथीहरु उमेर नपुगी विवाह गर्दा भोग्नुपर्ने समस्या बारे जानकार भएका छन् । उनले आफ्नो परिवेशका घटनाहरु अध्ययन गर्नुको साथै समाधानको लागि पहल गर्दा सबै भन्दा बढी चुनौती बालविवाहको मुख्य कारण अशिक्षा, सामाजिक र सांस्कृतिक चलन, मान्यतासँगैै विपन्नताको कारण हुने गरेको आफुले पाएको बताउछिन ।

उनले भनिन्–‘छोरी चेलीको जात भोली पनि विवाह गरेर पठाउने हो त्यसैले आज विहे गरौं भन्ने समाज पनि बालविवाह वारे केही बुझ्ने भएको छ ।’ उनले आफ्नै गाउको र विद्यालयमा अध्ययन गर्ने ३ जनाको भागेर विवाह हुनबाट रोक्न सफल भएकी छन् भने, यसमा उनको परिवार र उनका साथिहरुले निक्कै सहयोग गरेको उनी बताउछिन ।

बर्दिया बाँसगढी नगरपालिका–५ कि २१ वर्षिया सिर्जना सुवेदी नगरस्तरिय युवा सञ्जाल बाँसगढीकी सदस्य हुन । नगरस्तरिय युवा सञ्जालले पालिकामा बालविवाह बिरुद्ध सचेतना फैलाउनुको साथै बालविवाह हुदै गरेको वा हुने तयारी भएको जानकारी पाउना साथ रोक्नको लागि आफुहरु सक्रिय हुने गरेकी छन् ।

प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लवले आयोजना गरेको युवा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी भएसंगै उनी बालविवाह बिरुद्धको अभियानमा लागेको सम्झदै भन्छिन–‘ पहिला कलेज गयो फर्केर घर आयो घरको काममा आमालाई सघायो फुर्सद भएपछि यसो गृहकार्य गर्यो अनि समामाजिक सञ्जालमा वितायो । तर अहिले भने सामाजिक सञ्जालमा राम्रा नराम्रा कुरा केलाउने, नराम्रा कुराको साथी संगीलाई सचेत गराउने र यसको सही सदुपयोगको बारेमा वकालत गर्ने गरिएको छ । यति मात्रै होईन बालविवाह र यसको असर बारे समेत जानकार गराउन सक्ने भएकी छु ।’

छाउपढी प्रथा र बालबिबाह जस्ता कुराहरु अन्त्य गर्नको लागि कसरी आफैबाट सुरु गर्ने भन्ने कुराबारे समेत उनी प्रष्ट भएको बताउछिन । उनको समाजमा अहिले पनि किशोरीमा हुने मासिक श्रावलाई पापको रुपमा लिने गरिएको बताउछिन । किशोरी अवस्थामा हुने महिनावारी पाप नभई जीवन चक्र हो र यो अवस्थामा सफा बस्नु पर्ने, पौष्टिक खानेकुरा खाने, साथै फोहर कपडा भन्दा साफा कपडा वा भरपर्दो प्याड प्रयोग गर्नुपर्छ भन्ने बुझेकी छन ।


स्नातक तहको अध्यन पुरा गर्नै आँटेकी संगिता अज्ञानता र अशिक्षा, साथै सामाजिक सञ्जालको दुरुपयोगको कारण बालविवाह हुने गरेको उनको समाजमा उनी लगायत उनका साथीहरु मिलेर सामाजिक सञ्जालको सदुपयोग गर्दै बालविवाह विरुद्धको अभियान नै चलाएको बताउछिन । उनले आफ्ना साथीहरुसँग सहकार्य गर्दै सामाजिक सञ्जाल मार्फत चलाएको सो अभियानमा बालविवाहबिरुद्धको भिडियो क्याप्सन र प्रतिबद्धतालाई समेत समेट्नुका साथै त्यसको अनुगमन गर्ने सुरु गरेको बताउछिन ।

‘बालविवाह बिरुद्धको सचेतना मुलक भिडियो सामाजिक सञ्जालमा राखेपछि समाजमा राम्रो र नराम्रो टिप्पणी आउने गरेको छ । धेरैले राम्रो काम गरेको भनेर प्रशंशा पनि गरेका छन । तर, जसको परिवारका सदस्यहरु बाल विवाहमा संलग्न हुनु हुन्छ उहाँहरुलाई हाम्रो काम अत्यन्तै नराम्रो लाग्ने गरेको छ’–उनले भनिन ।

बर्दिया बाँसगढी नगरपालिका–८ कि २१ वर्षिया हिना खातुन जागा बाँसगढी नगर सञ्जालकी सदस्य हुन । उनी यसै सञ्जाल मार्फत बालविवाह बिरुद्धको अभियन्ता समेत भएकी छन । सामान्य तया मुस्लिम परिवारमा जन्मेकी हिनालाई सामाजिक अभियन्ताको रुपमा हिड्नको लागि उनको घर परिवार बाधक नभए पनि उनकै धार्मिक समाज तगारो बन्ने गरेको छ ।

केहिवर्ष अघि आफ्ना बुवाको अघि ठूलो स्वरमा बोल्न त के सिधा हेरेर उभिन समेत डराउने हिना बाँके युनेस्को क्लवले आयोजना गरेको युवा क्षमता विकास कार्यक्रममा सहभागि भएपछि उनमा एका एक परिवर्तन आएको बताउछिन । घरमा सधै शान्त स्वभावकी हिनामा आएको परिवर्तनले उनका माता पितालाई पनि आश्चर्य चकित पारिदियो ।

उनलाई सहज रुपमा अभियन्ता बनेर हिड्नको लागि बाधक उनकै धार्मिक समाज नै बन्ने गरेको उनको तीतो अनुभव छ । मुस्लिम समुदाय भित्र महिलालाई पर्दामा रहनु पर्ने बाध्यता रहे पनि हिनाको परिवार भने समाज तथा धर्मले रोकेको कुरामा आफु पनि रोकिनु पर्ने तर, कुसंस्कार र कुरितीको कुरालाई हटाउनु पर्ने मान्यतामा रहदै आएकोले पनि उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै सामाजिक अभियन्ता बनेकी हुन ।

उनी १८ वर्षको हुँदा घरमा विवाहको प्रस्ताव आउदा उनले आफ्ना बाबुसंग कडा शब्दमा विवाहको प्रतिकार गरेको स्मरण गर्दै भनिन–‘यदि तपाईले मेरो मन्जुरी विना मेरो विवाहको निर्णय म माथि लाद्नु भयो भने म तपाई माथी मुद्दा हाल्ने छु ।’ स्नातक दोस्रो सेमेस्टरमा अध्ययनरत हिना हाल बाँसगढी युवा सन्जालकी सदस्य तथा बालविवाह विरुद्धकी अभियान्ता हुन ।

घरमा ठूलो स्वरले बोल्न डराउने हिना तर, अहिले आफ्ना जायज कुरा बाबाआमासंग निर्धक्क भएर भन्न सक्ने भएकी छन् । अचेल उनी आफुसंगै समाजलाई पनि अघि बढाउनु पर्छ भन्ने लागेर बालविवाहका विरुद्धको अभियानमा लागेकी उनी हाल आफ्नो समुदायका बालबालिकालाई पढाउनु पर्छ र केही गर्न सक्ने भएपछि मात्र बिबाह गर्नु पर्छ भन्ने कुरा उनीहरुका अभिभावकलाई बुझाउदै हिडन थालेकी छन् ।

सानो उमेरमा विवाह गर्दा बालिकाको प्रजनन अंग पनि पूर्ण रुपले विकशित भै नसकेको हुने हुँदा उनको शरिर जोखिममा पर्ने मात्र नभई उसको भविष्य नै अनिश्चित हुन्छ भन्ने कुरा आफ्नो समाजमा बुझाउन खोज्दा उनिमाथि थुप्रै आरोप नलागेका पनि होईनन् । उनकी आमाबाबु शिक्षित परिवारको भएको कारणले पनि उनको कुरा उनीहरुले बुझेर उनलाई पढाउन पठाएका हुन । बुवा व्यवसाय गर्ने र आमा राजनीति गर्ने भएकोले पनि हिनालाई घरपरिवारले पनि सहयोग गरेकोले बालविवाह बिरुद्धको अभियानमा जोडिन सहज भएको हो ।

‘आफू त बुढि भई–भई, बाउ आमाको लागि बोझ बनेकी छ । फेरी भएन भनेर हाम्रो छोरीलाई पनि विवाह नगर भनेर उकास्छे भन्ने जस्ता आरोप मलाई मेरै समुदायका अगुवाहरुले लगाउछन’– उनले भनिन–‘बालविवाह कै कारण कसैको ज्यान गईहाले पनि कोही केही नबोल्ने बन्द समाज छ । यसले म जस्ता अभियन्ताहरुलाई निक्कै चुनौती हुने गरेको छ ।’

उनले मधेशी मुस्लिम समुदायमा शिक्षाको कमी छ । जसका कारण उनीहरु परम्परागत रुढीबादी ग्रस्थ कुरामा अल्झेर बस्ने गर्दा पनि बालविवाहले प्रसय पाएको बताईन । ‘अभियानकै क्रममा १४÷१५ मै विवाह भएर ज्यान गुमाएकाहरुको उदाहरण समेत दिने गरेकी छु । तर पनि यो समुदायमा खासै सचेतना आएको छैन । म र मेरा साथिहरु लागि रहेका छौ । आशा छ एकदिन अवश्य परिवर्तन आउने छ ।’

बढैयाताल नयाँवस्तिका हिमा, बाँसगढीका संगिता र हिना त बर्दियाका प्रतिनिधि पात्र मात्र हुन उनीहरु जस्ता धेरै किशोरीहरु बालविवाह बिरुद्धको अभियानमा अभियन्ता बनेर बालविवाह, चाँडो विवाह र भागी हुने विवाहले पार्ने नकारात्मक प्रभावको बारेमा सचेतना फैलाउदै आएको पाएको बाँके युनेस्को क्लवका संरक्षक समेत रहेका प्रवेज अली सिद्दिकी बताउछन ।

उनले क्लवले प्लान नेपालको आर्थिक सहयोगमा बर्दियाको विभिन्न पालिकाहरुमा बालविवाह बिरुद्धको अभियान सञ्चालन गर्दै आएको बताए । ‘जस्को मुद्दा उसैको पैरवी आवश्यक देखिएकोले किशोर–किशोरीलाई नै बालविवाह बिरुद्धको अभियानमा सहभागिता गराईएको हो’– उनले भने–‘ यसले उनीहरुको मुद्दाको सम्बोधन पनि हुने र कुसंस्कारको पनि अन्त्य हुने विश्वास गरिएको छ ।’

यसैबीच जिल्ला प्रहरी कार्यालय बर्दियाले गत चार वर्षयता ३ वटा बालविवाहका मुद्दा दर्ता भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका मुद्दाशाखा प्रमुख तथा प्रहरी निरिक्षक हृदेश सापकोटाले अर्थिक वर्ष २०७६–०७७ मा १ वटा २०७८–०७९ मा १ वटा र चालु आर्थिक वर्षमा १ वटा गरी ३ वटामात्र बालविवाह बिरुद्धको मुद्दा दर्ता भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा अनिश्चितकालिन कर्फ्यू

१५ मंसिर २०७९, बिहीबार १९:०१
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ । ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडक अवरुद्ध गरेका […]