दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १४:०२
 

दाङ : दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए । निर्वाचन सुरक्षा समन्वय समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लाका ग्रामीण बस्तीका मतदानस्थल अतिसंवेदनशील छन् ।

बबई, राप्ती, बङ्गलाचुली र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । निर्वाचनमा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि परिचालन गरिएको छ ।

निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । जिल्लाका सबै ठाउँमा रहेका मतदानस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ । प्रजिअ रेग्मीले निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको र मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुने सुरक्षा प्रबन्ध गरेको बताए ।


दाङमा निर्वाचनका लागि तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार दाङका एक सय ५३ वटै मतदानस्थल तथा चार सय ६५ मतदान केन्द्रमा कर्मचारी खटाईएको हो । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाईएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा मतगणना सोही निर्वाचन क्षेत्रमै हुने भएको छ । दाङ क्षेत्र नं.१ को लमही नगरपालिकाको हलमा, क्षेत्र नं. २ को जिल्ला समन्वय समिति घोराहीको हलमा र क्षेत्र नं ३ को राप्ती बबई क्याम्पसमा हुने भएको निर्वाचन अधिकारी भण्डारीले बताए ।

दाङमा सबै निर्वाचनका सामग्री पनि आइपुगेका छन् । एकहप्ता अघि नै मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत सबै सामग्री आइपुगेका हुन् । यसैबीच निर्वाचनमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत र अन्य कर्मचारीलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियास्थित गणेश सामुदायिक वनमा बाघ मृत फेला

२६ कार्तिक २०७९, शनिबार १४:०२
बर्दिया : बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश सामुदायिक वनमा शनिबार मृत अवस्थामा पोथी पाटेबाघ फेला परेको छ । अन्दाजी ५–६ वर्ष उमेरको बाघको शरीरका विभिन्न भागमा चोट पटक लागेको छ । सहायक वन अधिकृत सन्तोष चौधरीले शुक्रबार राति बाघ आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको बताए । शुक्रवार दिउँसो बाघको […]