कारागारबाटै चुनाव लड्दै बाँके २ की उम्मेदवार विद्या

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १३:२९
 

 

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै छिन् । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगञ्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उनी कारागारबाटै निर्वाचन लड्दै छिन् । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उनलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।


बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहेको उनका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बदरको माग गर्दै तुलसीपुर उच्च अदालत नेपालगञ्ज इजलासमा रिट दायर गरेकी छिन् ।

थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दाको सुनुवाइ हुन भने बाँकी छ । उता, मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका निर्वाचन अधिकृत मुनानन्द अधिकारीले दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिए ।

उम्मेदवार शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ मा पर्छ भने वडा नम्बर १६ मा उनको माइतीघर छ । शर्माले छोरीको जन्म दर्तामा आफैँले सच्याएर उमेर घटाएको पाएपछि उजुरी परेकोले पक्राउ गरेर अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवाबाट सालको अवैध काठ बरामद

२२ कार्तिक २०७९, मंगलवार १३:२९
नेपालगञ्ज : बाँकेको डुडुवाबाट सालको काठ बरामद गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ सन्तलियास्थित लुकाई छिपाई राखेको अवस्थामा साल जातको काठ गोलिया २ थान (८.५ क्यु फिट र ११.११ क्यु फिट) प्रहरी चौकी खडैचा र हजरात सामुदायिक बन उपभोक्ताको संयुक्त टोलिले फेला पारेको हो । उक्त काठ […]