पश्चिम सुर्खेतमा राजमार्गको काम शुरु

सदरलाइन संवाददाता १३ बैशाख २०८०, बुधबार १४:४६
 

सुर्खेत : मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डको काम अघि बढाइएको छ । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको हो । सम्झौताअनुसारकै समयावधिमा निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको हो ।

विद्यापुर–बल्दे सडकखण्डमा अहिले बाटो कटिङको काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी बानियाँ मोतीदान डी.एस. जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । काम शुरु भएको दुई महिनाको अवधिमा करिब सात प्रतिशत सम्पन्न भएको छ ।

राजमार्गको जङ्गल क्षेत्रमा पर्ने रुखको कटानका लागि पनि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । यो सडकखण्डमा आधाभन्दा बढी जङ्गल क्षेत्र परेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । राजमार्ग क्षेत्रमा पर्ने रुख कटान आदेश नहुँदा अहिले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ । सडक आयोजनाअन्तर्गत ट्याक खोल्ने र चौडा बनाउने काम भइरहेको कार्यालयका इन्जिनियर हरिजनले बताए । उनका अनुसार अहिले सुरुवाती चरणका काम भइरहेका छन् । जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम धमाधम चलिरहेका छन् । वन क्षेत्रमा पर्ने ठाउँमा समेत रुख छोडेर काम अघि बढाइएको छ । रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने जनाइएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडकखण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो। २०७९ देखि काम शुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।


हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले बताए । उनका अनुसार उक्त खण्डमा तीन वटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन् । पुनर्निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र परेको छ । वन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले वन क्षेत्रमा पर्ने रुख कटानको काम पनि अघि बढ्ने उनले बताए । रुख कटानको अनुमति नहुँदा काम अघि बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत्लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ ।

दुई वटा खण्डको काम भइरहे पनि राजमार्गअन्तर्गत खम्बागाडे–विद्यापुर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन । उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन । राजमार्गको तीन वटा सडक खण्डमध्ये दुई वटा खण्ड मदन भण्डारी राजमार्गले गर्नेछ । त्यसमध्येको खम्बागाडे–विद्यापुर सडकखण्डको १० किलोमिटरको काम सञ्चालन नभएको हो ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले मदन भण्डारी राजमार्गको काम अघि बढाउन निर्देशन दिएका छन् । सडक सास्तीले नागरिक आजित बनेको भन्दै उनले काम रफ्तारमा गर्न सुझाव दिए । मन्त्री चपाईं बाटोको अनुगमनका लागि पश्चिम सुर्खेत पुगेका थिए । काम गुणस्तरीय हुनुपर्ने र समयमै सम्पन्न गनुपर्ने भन्दै उनले भने, “रुख कटानका लागि रोकिएका काम छिट्टै सुचारु हुनेछ। त्यसका लागि आवश्यक पहल गर्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकलसेल र थालेसेमियाबारे सचेतना फैलाउँदै कोहलपुर

१३ बैशाख २०८०, बुधबार १४:४६
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयबासीलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत पारिएको छ । कोहलपुर नगरपालिकाले बुधवार आयोजना गरेकोअभिमुखिकरण कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा.राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले मानिसलाई पुर्याउने दीर्घकालीन हानी, योबाट जोगिने उपायबारे सचेत गराए । वंशाणुगत यो रोगबाट […]