नेपालगञ्ज : पश्चिम नेपालकै सुगम जिल्ला मानिने बाँकेका दुई दुर्गम गाउँपालिकामा अझै पनि नेपाल टेलिकमको सेवा विस्तार हुन नसक्दा सेवाग्राहीलाई सास्ती भएको छ ।
राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्याप्त टावर नहुँदा मोबाइल र सोसम्बन्धी अन्य सेवा राम्ररी नचल्दा स्थानीयले सास्ती भोग्नु परेको गाउँपालिकाले जनाएको छ ।
राप्तीसोनारी र नरैनापुरमा टेलिकमका थप १० वटा टावर राख्न टेलिकमसँग माग गरिएको छ । टेलिकमको केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० वटा टावरमध्ये १० वटा टावर राप्तीसोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले राप्तीसोनारीका आठ र नरैनापुरका तीनवटा वडामा नेपाल टेलिकमको टावर रहेको र त्यसबाट पर्याप्त नेटवर्क प्राप्त नभएकाले थप १० वटा टावर तत्काल जडानका लागि पहल गरिएको बताइन् ।
थप टावर जडानका लागि नेपाल टेलिकमको प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दुवै स्थानमा माग गरिएको मन्त्री केसीले बताइन् । उता राप्तीसोनारी र नरैनापुरका धेरैजसो गाउँबस्तीमा टेलिकमको नेटवर्क नटिप्ने समस्या भएपछि टावर जडानका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।
विशेषगरी कोहलपुर नगरपालिकाको चप्परगौडीदेखि दाङको सिमाना शिव खोलासम्मको करिब ४२ किलोमिटर दूरीमा टेलिफोन टावरको बढी समस्या छ । उक्त क्षेत्रलाई समेट्ने गरी टावरको माग गरिएको राप्तीसोनारीका अध्यक्ष तप्त पौडेलले बताए ।
राप्तीसोनारी र नरैनापुरमा रहेको टेलिकम टावरको रेन्ज कम भएकाले ती टावरको स्तरोन्नति गरी रेन्ज बढाउन पनि माग गरिएको अध्यक्ष पौडेलको भनाइ छ । नरैनापुरको सीमावर्ती क्षेत्रहरूमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय मोबाइलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको नरैनापुरका स्थानीय रमजान मुकेरीले बताए ।