वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

सदरलाइन संवाददाता ३१ आश्विन २०७९, सोमबार १३:३६
 

नेपालगञ्ज : असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् ।

बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ । दाङको गढवा गाउँपालिकाका मात्रै ७ वटा विद्यालयमा क्षति पुगेको छ ।

२८ वटा विद्यालय रहेको गाउँपालिकाका धेरै विद्यालयमा पानी पसे पनि ७ वटामा भने बढी क्षति पुर्याएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत श्यामबहादुर विकले बताए ।

उता हुम्लाको ताँजाकोट गाउँपालिकाका एक मावि र दुई आधारभूत विद्यालय गरी तीन वटा विद्यालयमा क्षति पुर्याएको शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले बताए । त्यसमध्ये जनप्रकाश माविको चार कोठे भवन पूर्णरुपमा भत्किएको ढकालले जानकारी दिए ।


यस्तै सल्यानको शारदा नगरपालिकामा १५ वटा विद्यालयमा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर ववालले जानकारी दिए । क्षतिको पाप्त विवरणमध्ये केहीको गेट भत्किएको, पर्खाल भत्किएको, भवन चर्किएको, माथिबाट पहिरोले पुरेको लगायतको विवरण प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत ववालले बताए ।

यस्तै दैलेखको नारायणी नगरपालिकाको ७ वटा विद्यालयमा क्षति पुगेको विवरण प्राप्त भएको शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बताए । उनका अनुसार नगरपालिकाको बसन्त मावि दुई कोठे भवन र घेराबार पर्खाल र देउती माविको दुई कोठे भवन भत्किएको छ । अरु विद्यालयहरुको भने पर्खालमा क्षति पुगेको छ ।

कर्णाली प्रदेशमा धेरै विद्यालयमा क्षति पुगेको अनुमान भएपनि विवरण आइनसकेको प्रदेशको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा

३१ आश्विन २०७९, सोमबार १३:३६
नेपालगञ्ज : प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमालेले आज बाँके क्षेत्र नंं ३ प्रदेश ख को सम्पर्क कार्यालय स्थापना गरेको छ । जानकी गाउँपालिका–४ खजुराखुर्दमा एक समारोहका बीच नेकपा एमाले बाँकेका अध्यक्ष एवम् बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति र क्षेत्र नं. […]

सम्बन्धित