पाकिस्तानद्वारा ‘सम्झौता एक्सप्रेस’ बन्द

२३ श्रावण २०७६, बिहीबार १७:३७
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको छ । पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले आफूले सम्झौता एक्सप्रेस ‘सधैँका लागि बन्द गर्ने’ घोषणा गरेको बताएका छन् । भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको भूमिका प्रदान गरेको संवैधानिक प्रावधान धारा ३७० खारेज गरेसँगै पाकिस्तानले यस्तो कदम चालेको हो ।
पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले पनि यस कुराको पुष्टि गरेका छन् । तर यसबारेमा भारतीय प्रतिक्रिया भने आइसकेको छैन । भारतको पछिल्लो कदमबाट रिसाएको पाकिस्तानले प्रतिक्रियात्मक कदम चालिरहेको छ । उसले भारतसँगको द्विपक्षीय कारोबार बन्द गरिसकेको छ ।
पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय उच्च आयुक्तलाई फिर्ता पठाउने तथा नयाँ दिल्लीमा रहेका आफ्ना उच्च आयुक्तलाई फिर्ता बोलाउने, व्यापार स्थगन गर्ने र सम्झौता एक्सप्रेस बन्द गर्ने घोषणा गर्दै पाकिस्तानी रेल मन्त्रीले भने, ‘कश्मीरीमाथि लगातार अत्याचार भैरहोस् अनि पाकिस्तानले टुलुटुलु हेरिरहने ।
यस्तो कदापि हुन सक्दैन । यस्तो अवस्थामा सम्झौता एक्सप्रेस सधैँसधैँका लागि बन्द गरेको घोषणा गर्दछु ।’ उनले अगाडि भने, ‘जसले टिकट बुक गरेका छन त्यो टिकट काटिने छैन । उनीहरुलाई पूरा पैसा फिर्ता गरिनेछ ।’


सम्झौता एक्सप्रेसको इतिहास ?
सम्झौता एक्सप्रेस भारत र पाकिस्तानको बीचमा हप्तामा दुई दिन चल्ने रेल हो । जुन रेल भारत–पाकिस्तान विभाजन हुनुअघि बिछ्याइएको भारतको अटारीदेखि पाकिस्तानको लाहोरसम्मको लिकमा चल्छ । यो रेल शिमला सम्झौतापछि २२ जुलाई १९७६ देखि लाहोरबाट अमृतसरसम्म चलाइएको थियो ।
पछि सन् १९९४ मा यसलाई अटारी–लाहोर चलाउन थालिएको हो । सम्झौता एक्सप्रेस पनि भारत–पाकिस्तानबीचको तनावको साक्षी बन्दै आएको छ । जब–जब दुई देशबीचमा तनाव पैदा हुन्छ, यो रेल सेवा पनि बन्द गरिन्छ । हालसालै भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंककारी आक्रमणपछि यो रेल सेवा रोकिएको थियो ।
(एजेन्सी)

Next Post

नेपालगञ्ज नाकाबाट दुई सय बढीको उद्धार

२३ श्रावण २०७६, बिहीबार १७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले बिगत एक बर्षको अवधीमा २०९ महिला तथा बालबालिकालाई उद्धार गरेको छ । नेपालगञ्जस्थित भारतीय नाका जमुनहा हुँदै अवैधरुपमा भारत तथा खाडी मुलुक लैजादै गरिएका २०९ महिला तथा बालबालिकालाई उद्धार गरिएको हो । उक्त अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं. […]