बाँकेको बाढी प्रभावित क्षेत्रका बालबालिका भाइरल ज्वरोबाट प्रभावित

सदरलाइन संवाददाता २९ आश्विन २०७९, शनिबार १३:३१
 

नेपालगञ्ज : केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएको अस्पतालहरुले बताएका छन् ।

असोजको शुरुदेखि नै कहिले अत्यधिक गर्मी र कहिले वर्षा भएकाले ज्वरो बढेको बताइएको छ । केही दिनयताको अविरल वर्षाका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या थप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यही बेला डेङ्गुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेङ्गुप्रति झन् त्रसित बनेका छन्। ज्वरो आउनसाथ डेङ्गु परीक्षण गराउनेहरू बढेको पाइएको छ। भाइरलबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् ।

नेपालगञ्ज र कोहलपुरका निजी तथा सरकारी अस्पतालमा केही दिनयता भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको र तीमध्ये बढी बालबालिका र वृद्धवृद्धा रहेका जानकारी चिकित्सकहरूले दिएका हुन् ।

भेरी अस्पतालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिने बिरामी ठूलो संख्यामा छन् । तीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा छन् ।


भेरी अस्पतालमा मात्र दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका र तीमध्ये केहीमा डेङ्गु देखिएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । उनका अनुसार बालबालिका र वृद्धवृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेको छ ।

अस्पताल र निजी स्वास्थ्य क्लिनिकमा ज्वरो र टाइफाइडका बिरामी आउने क्रम त्यत्तिकै बढेको छ । मौसम परिवर्तन, दूषित पानी, सरसफाइ र खानपानमा उचित ध्यान नपुर्याउँदा भाइरल ज्वरोका बिरामी बढेको दाबी चिकित्सकहरूको छ । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने भए पनि डेङ्गुप्रति सचेत रहनुपर्ने सुझाव चिकित्सकहरूको छ ।

नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. रोमन किदवाईले भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताए ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. सकिल अहमदले नेपालगञ्ज क्षेत्रमा सयौँ बालबालिकामा भाइरल ज्वरो फैलिएको जानकारी दिए । आफ्नो क्लिनिकमा मात्र ३० देखि ५० जनासम्म बालबालिका उपचारका लागि आउने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बाढीले करीब पाँचसय बिघाको धान बालीमा क्षति

२९ आश्विन २०७९, शनिबार १३:३१
बर्दिया : बर्दियामा बाढीले ४९४ बिघाको धान बालीमा क्षति पुर्याएको छ । पाक्नै लागेको धानमा क्ष्ािी पुगेपछि किसान चिन्तित भएका छन् । गुलरिया नगरपालिका–११ इन्द्रपुरका शौखत अली गद्दी बबईमा आएको बाढीले पाक्न लागेको धान डुबाएपछि चिन्तित छन् । वर्ष दिनलाई जोहो गरेर राख्ने र केही बिक्री गरेर घर खर्च टार्ने […]