निरन्तरको वर्षाले नरैनापुरमा दुईसय बढी घर पूर्णक्षति

सदरलाइन संवाददाता २१ आश्विन २०७९, शुक्रबार १८:४८
 

नरैनापुर (बाँके)  : तीन दिनदेखि लगातारको वर्षातका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । वर्षातको कारण नरैनापुर गाउपालिकाको विपत शाखाले दिएको जानकारी अनुसार करिव दुईसय घर पूर्ण रुपमा क्षति भएको छ । करिव ६ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको जनाएको छ ।

लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा चुरेपहाडको पानी पस्दा भएको डुबानले करिब छ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एंव विपत शाखाको प्रमुख समेत रहेका लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा बुधबारदेखि नै खाना पाक्न नसकेको सूचना अधिकारी मिश्राले बताए । बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।


अध्यक्ष शाहले भने–‘राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको चुरेपहाडको पानीले नरैनापुरवासीलाई प्रभावित गरेको छ ।’ शुक्रबार बाढी पीडितहरुसंग भेटगरी पालिकाका तर्फबाट आवश्यक राहात उपलब्ध गराउने बताउदै सबैलाई सचेत भएर बस्न अध्यक्ष शाहले आग्रह गरेका थिए ।

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको बताउदै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका अलि बाँकी रहेको खेतीपाती पनि सखाप पारेको बताए । उनले सुख्खा ग्रस्त क्षेत्र घोषण हुदाँ समेत संघीय र प्रदेश सरकारले जनतालाई राहात दिन नसकेको प्रति आक्रोश व्यक्त गर्दै बाढी पीडितहरुलाई भोकमरी हुनबाट बचाउन तर्फ पहल गर्न सम्बन्धी पक्षहरु संग अपिल गरे ।

गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसे पछि जनजीवन अस्तव्यस्त बनेको गाउँपालिकाले जनाएको छ । वडा नं. ३ का अध्यक्ष अजय मिश्राले घरमा रहेका सबै सामान भिजेर बेहाल भएको बताउदै पानी नरोकिए प्रभावितको संख्यामा बृद्धि हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धारा नेपालगञ्ज म्याराथन र सारमंग देहरादुनबीच सम्झौता

२१ आश्विन २०७९, शुक्रबार १८:४८
नेपालगञ्ज : धारा नेपालगञ्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवै विश्व म्याराथनको सर्वोच्च निकाय एसोशिएशन अफ इन्टरनेशनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । […]