पाँच दिनदेखि राप्तीसोनारीका दुई बालिका बेपत्ता

सदरलाइन संवाददाता १० आश्विन २०७९, सोमबार १४:०२
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियाका १३ वर्षीया वन्दना विक र ११ वर्षीया निशा परियार गत पाँच दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन् ।

विक र परियार सम्पर्कविहीन भएको तीन दिनपछि वन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको र सोही आधारमा तत्कालै खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू जानसक्ने र सम्पर्क भएका ठाउँ तथा आफन्तसँग शोधपुछ भइरहेको प्रहरीले जनाएको छ । असोज ४ गते बेलुका निशाले वन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकोमा उनीहरूले दालभात पकाए पनि खाना नखाएको देखिएको छ ।

ती दुवै बालिकाका आमाहरू दोस्रो बिहे गरी अन्यत्र गइसकेको र उनीहरू दुवैका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको हुँदा निशा मावली हजुरबुबा र वन्दना सानीआमा र हजुर आमासँग बस्दै आएका थिए ।

निशाका मावली हजुरबुवा भीमबहादुर दमाईले उक्त दिन आफू दाङको दङ्गीशरण गाउँपालिका–१, गोल्टाकुरीमा काम विशेषले गएको र असोज ५ गते बेलुका घरमा फर्किंदा नातिनीलाई घरमा नदेखेको प्रहरीलाई बताएका छन् ।


निशा स्थानीय कुसुमेश्वर माध्यामिक विद्यालयमा कक्षा ४ र वन्दना ३ मा पढ्दै थिए । त्यसदिन निशाले घरमा आफू एक्लै भएको भन्दै मिल्ने साथी वन्दनालाई खाना खान र सुत्न बोलाएकी थिइन् ।

प्रहरीका अनुसार उनीहरू पूर्वपश्चिम राजमार्गस्थित कुसुम बजारमा पानी र मकै बेचेर आफ्नो खर्चको आफैँ जोहो गर्थे । उनीहरू एकदिन स्कुल पढ्न जाने र एकदिन सडकमा पानी र मकै बेच्ने गरेको छिमेकीले जनाएका छन् ।

वन्दना गत वर्ष आफ्नी सानीआमासँग कामको खोजी गर्ने क्रममा पोखरा पुगेर सानीआमासँगै काम गरी फर्किएकी पनि थाहा भएको छ । एकै ठाउँका दुई जना बालिका हराएको सूचना पाएलगत्तै खोजी कार्य जारी राखिएको कुसुम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसारसबै युनिटमा उनीहरूको फोटोसहितको जानकारी पठाएर खोजतलासमा सहयोग गर्न आग्रह गरिएको छ । काकाको घरमा सुत्न जाने भनेर गएका उनीहरू कहाँ गए सो बारेमा खोजतलास तीव्ररूपमा भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा कृषि आर्गेनिक पसल सञ्चालन

१० आश्विन २०७९, सोमबार १४:०२
कोहलपुर (बाँके) : हाम्रो कृषि सहकारि सस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” आर्गनिक खाद्य पसल सन्चालनमा ल्याएको छ । कोहलपुर गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा हुम्ला जुम्ला मुगु डोल्पा लगाएता जिल्लाबाट चिनो कागुनो अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्ट्मा पिसेको मकैको पिठो, कोदाको पिठो, बिभिन्न रैथाने जातका चामलहरु मार्सि, […]