नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाका १० देखि १४ वर्ष उमेर समुहका विद्यालय छाडेर घरमै बसेका छात्रालाई पुनः विद्यालयमा भर्ना गरी पढाई सुचारु गराउने उद्देश्यले ‘उडान’ कार्यक्रम सञ्चालनमा ल्याईएको छ । ‘उडान’ कार्यक्रमले बालिकाको विद्यालय ड्रपआउट दर घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
बि–ग्रुपले युएसएआईडीको आर्थिक सहयोग तथा केयर नेपालसंगको साझेदारीमा नरैनापुर गाउपालिकाका विद्यालय जाने उमेरका विद्यालय छाडेका वा नगएकालाई ‘उडान’ कक्षाका माध्यामबाट पुनः विद्यालय पठाउने गरी कार्यक्रम सञ्चालनमा ल्याईएको हो ।
नरैनापुर गाउपालिकामा विद्यालय जाने उमेरका बालबालिका खास गरी बालिका विद्यालय नै नगएर वा विद्यालय छाडेर बस्नेको संख्या अधिक रहेको पालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु बताउछन ।
उनले भने–‘चार वर्ष अघि नरैनापुरमा कक्षा ५ मा ३ सय मात्र विद्यालय भर्ना भएको अवस्था थियो । अहिले बढेर १ हजार पुगेको छ । तर, कक्षा ६ मा जाँदा ७ सय मै अड्किन्छ । बाँकी ३ सय विद्यालय नै भर्ना हुँदैनन, भए पनि विद्यालय आउदैनन ।’
उनले आफुहरुको जति मेहनत र प्रयास गरे पनि विद्यालय ड्रप आउट संख्या घटाउन नसकिएको दुखेसो पोख्दै भने–‘ विद्यालयका शिक्षक, कर्मचारी, शिक्षा शाखाको मात्र प्रयासले केही हुँदो रहेनछ । अभिभावकले शिक्षाको महत्व बुझेर जबसम्म आफ्ना सन्तती विद्यलय पठाउदैनन त्यो बेलासम्म हामीले निरन्तर प्रयास जारी राख्न आवश्यक छ ।’
नरैनापुरमा विद्यालय ड्रप आउट दर कक्ष १ देखि १२ सम्म हेर्नेहो भने सरदर १३ प्रतिशत रहेको देखिन्छ । तर, कक्षा ५ देखि १२ सम्मको हेर्दा करिव ३० प्रतिशत रहेको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा विद्यालय जाने उमेरका किशोरीले बिचमै कक्षा छाड््ने वा विद्यालय भर्ना नहुने, अभिभावकले नै विद्यालय पठाउन मन नगर्ने गरेकोले आफुहरु जस्ता किशोरीले पढाईलाई बीचमै छाड्नु परेको कक्षा ९ मा अध्ययनरत छात्रा सुनिता यादव बताउछिन ।
उनले भनिन–‘ प्राय अभिभावकले छोरीलाई किन पढाउने अर्काको घरमा जाने हो भन्ने सोच पालेका कारण पढ्न पठाउदैनन । मेरो घर परिवारले भने शिक्षाको महत्व बुझेर मलाई पढ्न पठाएको छ ।’
अभिभावकले आफ्ना सन्ततिलाई विद्यालय पठाउन भन्दा पनि घर कै कामकाजमा लगाउने गर्दा विद्यालय जाने उमेरका बालबालिका विद्यालय आउन भन्दा पनि घरमै बस्न बाध्य रहेको महेन्द्र मावि मटेहियाका शिक्षिका दिलमाया बोहराको भनाई छ ।
उनले भनिन–‘ हामी कहिले काँही विद्यालयको क्षेत्राधिकार भित्र घरदैलो गर्ने गरेका छौ जसको घरका विद्यालय जाने उमेरका बालबालिका विद्यालय भर्ना भएका छैनन वा विद्यालय जाँदैनन उनीहरुलाई विद्यालयमा पढ्न पठाउ भन्दा हाम्रो घरको काम तिमिले गरिदिन्छौ र भनि उल्टो प्रश्न गर्ने गर्नुहुन्छ । कोही यो विषयमा कुरै गर्न रुचाउनु हुँदैन । केहीले हाम्रो छोरी चेली विग्रन्छन भन्नु हुन्छ ।’
नरैनापुरका विद्यालय जाने उमेरका १० देखि १४ वर्ष उमेर समुहका बालिकालाई लक्षित गरी बि–ग्रुपले वडानं. ५ र ६ का ७५ जना जो विद्यालय छाडेर घरमा बसेका थिए उनीहरुलाई पुन विद्यालय पठाउन उडान कार्यक्रम अन्तरगत ३ वटा कक्षा सञ्चालन गरिएको बी–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिए ।
उनले पालिकाको सबै वडामा विद्यालय छाड्ने दर अधिक रहे पनि पहिलो पटक वडानं. ५ र ६ का ७५ जना किशोरीलाई उडान कक्षामा सहभागी गराई उनीहरुलाई पुन विद्यालय फर्काउन विद्यालयको पोषाक, झोला, स्टेशनरीलगायतका शैक्षिक सामग्री उपलब्ध गराईएको बताए ।
केयर नेपालका रबिन्द्र कुमालले उडान पाठ्यक्रम अनुसार नरैनापुरमा ३ वटा कक्षा सञ्चालन गरि ११ महिना उडान मोडालिटीमा पढाउने बताए । उनले उडान कक्षामा सहभागि भएका किशोरीलाई ११ महिना पछि परिक्षा लिएर विद्यालय भर्ना गरी पढाई सुचारु गरिने जानकारी दिए ।
उनले उडान पाठ्यक्रम अनुसार उडान कक्षामा आएका किशोरीलाई किताब घोकाएर पढाउनु भन्दा पनि उनीहरुलाई छुट्टै तरिकाले व्यवहारिक र प्रयोगात्मक तरिकाले सिकाउने हुँदा विद्यालय जाँदै नगएका वा छोडेर बसेकालाई पढ्न सिक्न सहज हुने बताए ।
बाँकेको नरैनापुरमा विद्यालय छाडेर घरमा बस्ने प्रतिशतको दर बढ्दो क्रममा रहेको छ । उडान कार्यक्रमले यो दर घटाई विद्यलय जाने उमेरका सबैलाई विद्यालयमा ल्याउन अहम भूमिका खेल्ने विश्वास गरिएको छ ।