नेपालगञ्ज : कैलालीको धनगढीमा विगत १० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन् जटिल भएको चिकित्सकले बताएका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आएको आशंका सेती प्रादेशिक अस्पताललले गरेको छ ।
बुधवार अस्पतालले विज्ञप्ति जारी गर्दै डा केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै उहाँको पेटमा कडा खालको अल्सर भइ रक्तश्राव भएको आंशका समेत अस्पतालले गरेको छ । केसीले लिखित रुपमै मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएका कारण समस्या गम्भीर भएको अस्पताल जनाएको छ ।
उनको अवस्था बिग्रिएपछि अस्पतालले विशिष्ट सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।
सुरुमा धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती अस्पतालमा राखिएको हो ।