नेपालगञ्जमा बसोवास गर्ने थारु महिलाहरु सामूहिक रुपमा जन्माष्टमी पर्व मनाउदै

सदरलाइन संवाददाता ९ भाद्र २०८१, आईतवार १९:११
 

नेपालगञ्ज : यस पटकको श्रीकृष्ण जन्माष्टमी पर्व नेपालगञ्जमा बसोवास गर्ने थारु समुदायका महिलाहरुले सामूहिक रुपमा मनाउने भएका छन् । नेपालगञ्जमा स्थायीरुपमा बसोवास गर्दै आएका र विभिन्न पेशा ब्यावसायमा आबद्ध थारु महिलाहरु श्रीकृष्ण जन्माष्टमीको बर्त बसी एकै ठाउँमा समामूहिक रुपमा पूजा पाठ गर्न लागेका हुन् ।

कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुले शनिबार सामुहिक दर खाने कार्यक्रम समेत आयोजना गरेका थिए । जन्माष्टमीको अघिल्लो दिन दर खाने चलन भएपनि नेपालगञ्जमा कर्म थालो बनाएर बसोवास गरिरहेका धेरै थारु महिलाहरु विभिन्न पेशा ब्यावसायमा ब्यस्त रहने भएकाले शनिबार नै दर खाने कार्यक्रम सम्पन्न गरिएको घरेलु महासंघ बाँके, महिला उद्यमी समितीका अध्यक्ष सुमित्रा चौधरीले जानकारी दिईन् ।

दर खाने कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार डा. कृणराज सर्वाहारीले थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वको महत्व बारे प्रकाश पारेका थिए ।

कृष्ण लिलामा आधारित थारु सख्या गीतको बारेमा विद्यावारधी समेत गरेका डा सर्वाहारीका अनुसार कृष्ण लिलामा ब्याख्या गरिए अनुसार राधा ३२ लक्षणले भरिपूर्ण थिईन्, सँधै सोह्रसिंगार गरेर बस्दथिन र उनले स्वादिष्ट खाना बनाउन जान्नुका साथै उनीमा कुनै सीपको कमी थिएन भनिएको छ ।


उनले भने–‘सोही अनुसार थारु महिलाहरु कृषण जन्माष्टमीमा सोह्र सिंगार गरेर राधा जस्तै बनेर ब्रत बस्ने चलन रहेको छ ।’ कृण लिलामा आधारित थारु अष्टीम्कीह्या तथा सख्या गीतमा कृष्ण भगवानका बाबु आमा खेती किसानी गर्ने र हलो जुवा पनि आफै बनाउने बारे ब्याख्या गरिएको जानकारी दिँदै उनले थारु समुदायपनि पुर्खौंदेखि खेती किसानीमा आश्रीत हुँदै आएको बताए ।

जन्माष्टमीको दिन सोमबार निराहार ब्रत बसेर बेलुका एकै ठाउँमा सामूहिक रुपमा कृष्ण कन्हैयाको पूजा पछि थारु भाषामै कृष्ण लिलामा आधारित अष्टिम्कीह्या गीत गाएर जाग्राम बस्ने कार्यक्रम रहेको थारु कल्याण कारीणी सभा बाँकेका अध्यक्ष संगिता चौधरीले बताईन् ।

विभिन्न पेशाा ब्यावसायको शिलशिलामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु महिलाहरु नेपालगञ्ज बस्दै आएपनि अन्य चाड पर्वमा सबैजना गाउँघरमै गएर मनाउने भएपनि जन्माष्टमी पर्वमा लामो विदा नहुने भएकाले सामूहिक रुपमा नेपालगञ्जमै मनाउन थालिएको थारु महिलाहरु बताउँछन् ।

अन्य पर्वमा बर्त बस्ने र पूजापाठमा खासै चासो नदिने थारु समुदायका महिलाहरु कृष्ण जन्माक्ष्टमी पर्वमा निराहार ब्रत बसी पूर्ण आस्था र विश्वासका साथ पूजापाठ गर्ने चलन रहेको थारु कल्याणकारीणी सभा बाँकेका सचिव विष्णु चौधरीकोे भनाई छ ।

जन्माष्टमीको दिन श्रीकृष्ण, पाँच पाण्डव, द्रौपति, सूर्य, चन्द्रमा र प्रकृतिमा पाईने अन्य जीवजन्तु लगायतको चित्र भित्तामा कोरेर पूजा गर्ने चलन रहेको थारु कलाकार मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी नेपाल रामेछापद्वारा विपदमा परेकी महिला पत्रकारलाई आर्थिक सहयोग

९ भाद्र २०८१, आईतवार १९:११
रामेछाप : प्रेस चौतारी नेपाल रामेछापले रामेछापमा बाढी पहिरोका कारण घर भत्किएर समस्यामा परेकी एक पत्रकारलाई आर्थिक सहयोग गरेको छ । अविरल वर्षाको कारण घर भत्किएर आफन्तको घरमा बस्दै आएकी पत्रकार झर्ना खड्काको परिवारलाई प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको हो । चौतारीले सदस्यहरूको बिचबाट स्वैच्छिक सहयोग सङ्कलन गरी […]