नेपालगञ्ज : भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पर्व । भगवान् गणेशको जन्मदिनको रूपमा यो दिनको महत्त्व छ ।
शिव र पार्वतीका पुत्र गणेशलाई विघ्ननाशक देवताका रूपमा पुजिन्छ । सनातन धर्मावलम्बीका सबै मांगलिक कार्यको सुरुआतमा गणेशको पूजा गर्ने परम्परा छ ।
सबै देवताका प्रिय, भक्तजनको थोरै प्रयासमा खुशी हुने र सिद्धि दिने देवताका रूपमा पनि उनको प्रसिद्धि छ । यस्ता देवताको जन्मदिनमा विधिपूर्वक आराधना गर्दा मनोकांक्षा सिद्ध हुने बताइन्छ ।
लड्डु र दुवो उनको प्रिय वस्तु भएको बताइन्छ । सिन्दुर, रक्तचन्दन, रातो फूल र रातो वस्त्र आदि चढाएर उनको पूजा आराधना गरिन्छ ।
गणेश चतुर्थीका अवसरमा काठमाडौं उपत्यकाका चार विनायक सूर्य विनायक, चन्द्र विनायक, मरु विनायक र अशोक विनायकका साथै कमल विनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।
गणेशजीकै श्राप परेको हुँदा यो दिन चन्द्रमाको दर्शन गर्न नहुने पौराणिक मान्यता छ । नेवार समुदायले बुधवार चथा पर्व मनाउँछन् ।
भारतका विभिन्न भागमा यो दिन गणेशको रथयात्रा गर्ने चलन छ, जहाँ हजारौँको संख्यामा श्रद्धालु सहभागी हुन्छन् ।
केही वर्षयता नेपालका मुख्य शहरमा पनि गणेश रथयात्रा गर्न थालिएको छ ।