सदरलाइनडटकम,
काठमाण्डौ : उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाण्डौ ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलवार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाण्डौ ल्याएको थियो । त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
