तीन वर्षमा लुम्बिनीका सांसदको औषधि खर्च आधा करोड बढी

सदरलाइन संवाददाता २७ श्रावण २०७९, शुक्रबार १४:५७
 

नेपालगञ्ज : सरकारले निःशुल्क गर्ने भनेको औषधि समेत गरिब बिरामीले पाउन सकेका छैनन् । तर लुम्बिनी प्रदेश सभाका सांसदहरूले भने हरेक वर्ष लाखौं रुपैयाँ औषधि उपचारको नाममा भुक्तानी लिँदै आएका छन् ।

पछिल्लो तीन वर्षको अवधिमा प्रदेशसभा सचिवालयमार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपैयाँ औषधि उपचार भन्दै भुक्तानी लिएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा २८ जना सांसदले १४ लाख ४९ हजार ५ सय ३० रुपैयाँ लिएको उपचार खर्च त्यसयताका वर्षहरूमा निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २५ जना सांसदले १७ लाख १८ हजार ५६ रुपैयाँ भुक्तानी लिएकोमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३६ जना सांसदले २१ लाख २८ हजार २ सय ९४ रुपैयाँ भुक्तानी लगेका छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयमा रहेको तथ्यांक अनुसार १३ जना प्रदेश सांसदले पछिल्लो तीन वर्ष नै औषधि उपचारबापत भन्दै रकम बुझेका छन् ।

त्यस्तै, १७ जना सांसदले २ वर्ष र १६ जनाले एक वर्ष रकम बुझेका छन् । औषधि उपचार खर्च भन्दै स्वर्गीय बलदेव शर्मा पोखरेललाई ४ लाख ८६ हजार ८ सय २४ रुपैयाँ भुक्तानी दिइएको थियो ।

लुम्बिनी प्रदेश सभामा जेष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठकको अध्यक्षता समेत गरेका पोखरेलको २०७६ साल माघ ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।

त्यसपछि प्रदेशसभा सचिवालयमार्फत् सबभन्दा बढी उपचार खर्च भन्दै भुक्तानी बुझ्नेमा प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया रहेका छन् ।

चिनी उद्योगका मालिक समेत रहेका कनौडियाले आर्थिक वर्ष २०७७/७८ मा २ लाख ४९ हजार १ सय ५७ र २०७८/७९ मा २ लाख २७ हजार ८ सय ५१ गरी दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपैयाँ उपचार खर्च लिएका छन् ।

त्यस्तै, ८ जना सांसदले २ लाखभन्दा माथि र ११ जना सांसदले १ लाखभन्दा माथि औषधि उपचार खर्चबापतको भुक्तानी लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

२ लाखभन्दा माथि रकम बुझ्नेमा मन्त्री समेत रहेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७०, कांग्रेसकी सचेतक निर्मला क्षेत्री २ लाख ७३ हजार ८ सय ९७, माला गोतामेले २ लाख १४ हजार ६ सय ८७ र कांग्रेसकै मोहम्मद याकुब अन्सारीले २ लाख १६ हजार ९ सय ५९ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै, एमालेका डा. पुरनमान बज्राचार्यले २ लाख २० हजार १ सय ६७, डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार १ सय ५ र सरस्वती गौतमले २ लाख २० हजार २ सय ३१ रुपैयाँ भुक्तानी लिएका छन् । बज्राचार्य चिकित्सा शास्त्रमा एमडी गरेका चिकित्सक हुन् भने न्यौपाने आयुर्वेदिक चिकित्सक हुन् ।

त्यस्तै, जसपाबाट कारबाहीमा परेकी पूर्वमन्त्री कल्पना पाण्डेयले २ लाख ७५ हजार २ सय ७ रुपैयाँ भुक्तानी लिएकी छन् । यीमध्ये न्यौपाने, अन्सारी र गौतमले तीन वर्ष नै उपचार खर्च भन्दै औषधिको बिल भरपाई बुझाएर उपचार खर्च लिएका छन् भने बाँकी सांसदले दुई वर्षको लिएका छन् ।

त्यसैगरी, १ लाखभन्दा माथि रकम लिनेहरूमा सभामुख पूर्णबहादुर घर्तीले १ लाख ४० हजार ३ सय ५१ र उपसभामुख कृष्णी थारुले १ लाख ६ हजार ९२ रुपैयाँ खर्च बुझेका छन् ।


यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठकले १ लाख ६९ हजार ४ सय ६, रुन्धावती शर्माले १ लाख १७ हजार ३ सय २८, शान्तिदेवी स्वर्णकारले १ लाख २१ हजार ४ सय १० र कांग्रेसकै भुवनेश्वर चौधरीले १ लाख १३ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै, माओवादी केन्द्रकी आशा स्वर्णकारले १ लाख ८ हजार ९ सय ५२, दीपा विकले १ लाख २२ हजार ८ सय ६६ रुपैयाँ औषधि खर्च लिएका छन् भने एमालेका चेतनारायण आचार्यले १ लाख ३१ हजार ८५ र विमला शर्मा पन्थीले १ लाख १४ हजार ६९ रुपैयाँ भुक्तानी लिएका छन् ।

पूर्वमन्त्री समेत रहेका जसपाका विजयबहादुर यादवले पनि राज्यको कोषबाट १ लाख ९० हजार १ सय ५७ रुपैयाँ औषधि उपचार खर्च लिएका छन् ।

सरकारी कोषबाट उपचार खर्च भन्दै रकम भुक्तानी लिने अन्य प्रदेश सांसदहरूमा एमालेका विष्णु पन्थी ९२ हजार ६ सय २४, भोजप्रसाद श्रेष्ठ ८६ हजार ८ सय ५, दधिराम न्यौपाने ६६ हजार ७७, रामजीप्रसाद घिमिरे ६० हजार ९ सय ५४, कमलराज श्रेष्ठ ५० हजार २ सय ३२, चिन्तावती कुर्मी ४८ हजार ५ सय ३१, धमकली चौधरी ४४ हजार २५, कुलप्रसाद पोखरेल ३९ हजार ७ सय १०, ६७, थानकुमारी थापा ३१ हजार ४ सय ८३, खड्ग बहादुर खत्री ३० हजार ६ सय ८५ र दिनेश पन्थीले १६ हजार ६ सय ८ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै, माओवादीकी कृष्णा केसीले ७४ हजार ६७, तेज बहादुर वलीले ४८ हजार ९ सय ८८, गीता थापाले २५ हजार ५ सय ४९, दीपेन्द्र कुमार पुन मगरले १४ हजार ९ सय ४४, लौटी थारुले १३ हजार ५ सय ५३, पार्वती पुन गहतराजले १२ हजार ५ सय ६५ र दीपेश थारुले १० हजार ३३ रुपैयाँ लिएका छन् ।
नेपाली कांग्रेसकी रमा अर्यालले ३७ हजार ४ सय ७९, शंकर गिरीले ३५ हजार ५८, हाल मन्त्री समेत रहेका बसिउद्धिन खानले २५ हजार ६ सय ७९, रिना नेपालले १८ हजार २ सय ७१, पुष्पा थरुनीले १६ हजार ७ सय ७ र वैजनाथ कलवारले १४ हजार ४ सय ५३ रुपैयाँ सरकारी कोषबाट औषधि उपचार खर्च लिएका छन् ।

त्यसैगरी, मन्त्री समेत रहेकी जसपाकी पुर्मती ढेंगाले पनि औषधि खर्च वापत ३७ हजार ९ सय ३१ रुपैयाँ भुक्तानी लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता एवं सूचना अधिकारी सम्झना सुवेदीले सांसदहरूले औषधि उपचार गरेको भन्दै सचिवालयमा बुझाएको बिल भरपाईमाथि छानबिन गरेरमात्र भुक्तानी दिने गरिएको बताइन् । त्यसको लागि लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक समेत समिति रहेको र सोही समितिले बिल भरपाई छानबिन गरी चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा भुक्तानी दिने गरिएको सुवेदीले बताइन् ।

लुम्बिनी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूलाई पारिश्रमिक र सुविधा दिन बनेको ऐनमा दर्तावाला चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा जुनसुकै अस्पतालबाट उपचार सेवा लिएवापत बिल बमोजिम सबै सांसदले बढीमा ५/५ लाख रुपैयाँसम्म उपचार खर्च लिन सक्ने उल्लेख छ ।

तर कतिपय सांसदहरूले भने आवश्यकताभन्दा बढी औषधिको बिल समेत पेस गर्ने गरेको र त्यस्ता बिलहरूको भुक्तानी दिने नगरिएको सुवेदीले बताइन् ।

‘अनावश्यक देखिएका कतिपय बिल भरपाईको भुक्तानी रोकिएको छ, चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा औषधि उपचार गरिएका बिलहरूको मात्रै भुक्तानी दिने गर्छौं,’ सुवेदीले भनिन् ।

सचिवालयका अनुसार करोडौंका उद्योग, घर जग्गाका मालिक समेत भएका सांसदहरूले पनि सुगर, प्रेसर जाँच गराएको जस्ता सामान्य बिल पेस गरेर पनि भुक्तानी लिने गरेका छन् ।

सबभन्दा बढी औषधि उपचार खर्च लिएका नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले आफूले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने भएकोले ऐनमा व्यवस्था भएअनुसार उपचार खर्च लगेको बताए ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पनि पाठेघर र नाकको अप्रेसन गर्दा लागेको खर्चवापत भुक्तानी लगेको बताइन् ।

एमालेका सांसद डा. कृष्ण न्यौपानेले आफ्नो आँखाको अप्रेसन गरेको र सोही वापतको भुक्तानी लगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरले बनायो शिक्षाको दसवर्षे योजना

२७ श्रावण २०७९, शुक्रबार १४:५७
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना तयार गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका लागि सार्वजनिक गरेको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख धीरेन्द्रप्रसाद शर्माले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयकै खाकामा रहेर विभिन्न १५ […]