दुई क्विन्टल प्रतिबन्धित माछा जफत गरी नष्ट

सदरलाइन संवाददाता ५ श्रावण २०७९, बिहीबार १५:२६
 

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको दुई क्विन्टल मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मंगलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो ।

अनुगमनका क्रममा प्रतिबन्धित मङ्गुर माछाको बिक्री वितरण भइरहेको सूचना पाएलगतै टोली त्यहाँ पुगेर हटियालाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिकृत थापाले बताए ।

उनका अनुसार जफत गरिएका मङ्गुर माछा बुधबार वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जंगलमा गाडेर नष्ट गरिएको छ । माछा व्यवसायीलाई भने फेरि पनि अवैध रूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएर छोडिएको उनले बताए ।


भारत तथा अन्तरप्रदेशबाट प्रतिबन्धित मङ्गुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछा जिल्लामा अवैध तवरले आयात नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको रोहवरमा गत जेठ १८ गते बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले सुर्खेतमा मङ्गुर माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

विज्ञका अनुसार माछाको वर्गीकरणमा नराखिएको मङ्गुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदूषण हुन्छ । अत्यधिक मात्रामा उक्त माछाको सेवनबाट क्यान्सर, आर्थराइटिस, मधुमेह लगायत रोग निम्तिन सक्ने पनि उनीहरूको भनाइ छ ।

उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा पूर्वतयारी

५ श्रावण २०७९, बिहीबार १५:२६
नेपालगञ्ज : बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नका लागि समयमै प्रयाप्त तयारी गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले यसवर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका […]