नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३२ औं बार्षिकोत्सवका अवसरमा स्मारिका ‘अक्सिज’ को दोस्रो अंक प्रकाशन गर्ने भएको छ । भेरी अस्पतालले यही साउन १२ गते आफ्नो १३२ औं बार्षिकोत्सव मनाउन लागेको हो ।
बार्षिकोत्सवका अवसरमा अस्पतालले स्कुले विद्यार्थीबीचमा अस्पतालप्रतिको दृष्टिकोणलाई केन्द्रमा राखेर प्रतिस्पर्धा गराउने भएको छ । ‘यदि म भेरी अस्पतालको प्रमुख भए’ शिर्षकमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराउन लागिएको अस्पतालले जनाएको छ ।
प्रतिस्पर्धी विद्यार्थीहरुले आफना विचार, भावना, योजना वा सुझाव लेख मार्फत पठाउन सक्ने पनि अस्पतालले जनाएको छ । भेरी अस्पतालको सेवा प्रवाह, सुधार र विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा.बद्री चापागाईले जानकारी दिए ।
प्रतिस्पर्धीहरुलाई कम्तिमा दुई हजार शब्द नबढाई यही साउन १ गतेभित्र मेल गर्न सकिने छ । उत्कृष्ट लेख–रचनालाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट रचना अक्सिजनको दोस्रो अंकमा प्रकाशित गरिने पनि अस्पतालले जनाएको छ ।