सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावितलाई स्थानीय सरकारले सामाजिक दुरी कायम गर्दै राहत दिन सुरु गरेको छ ।
यसक्रममा नेपालगञ्ज उपमहानगरपालिका–१७ ले वडामा रहेका ६८७ जना विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई राहत वितरण गरेको सो वडाका वडा अध्यक्ष अजय पाठकले जानकारी दिए ।
उनले उपमहानगरले तोकेको नम्स भित्र रहेर सो वडाको परसपुरमा ३१५, नदोई गाउमा १३६, ढोडेगाउमा १२८ र थुकैला गाउमा १०८ गरी ६८७ घरपरिवारलाई चामल १५ किलो, पिठो ५ किलो, दाल २ किलो, आलु ५ किलो, तेल १ लिटर, नुन १ पाकेट उपलब्ध गराईएको बताए ।
लकडाउन प्रभावितलाई स्थानीय सरकारले दिन सुरु गरेको राहतको विषयमा केही असन्तुष्ठि तथा बिरोध पनि आई रहेको छ । उनले वडामा घरबाहलमा बस्ने र विद्यार्थीको हकमा कार्यविधिले नबोलेको कारण उनीहरुलाई उपलब्ध गराउन नसकिएको बताए ।
‘वडामा घरबहालमा बस्ने तथा विद्यार्थीहरुको हकमा स्थानीय सरकारले राहत दिने स्पष्ट आधार नभएको कारण असहज भएको छ । तै पनि तथ्याङ्क संकलन गर्ने कार्य भएको छ’–उनले भने–‘स्पष्ट कार्यविधि अथवा निर्णय भएमा उनीहरुलाई पनि राहत उपलब्ध गराउन सहज हुने थियो ।’