प्रयोग भएन थारु मातृभाषाका पाठ्यक्रम

सदरलाइन संवाददाता १६ माघ २०७९, सोमबार १२:४८
 

दाङ : घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम निर्माण गरे पनि त्यसलाई प्रयोगमा ल्याउन सकेको छैन । थारू भाषाको पाठ्यक्रम करिब तीन वर्षअघि नै तयार भए पनि पाठ्यपुस्तक बन्न सकेको छैन ।

उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको भए पनि हालसम्म पाठ्यपुस्तक तयार नगरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले बताए ।

देश सङ्घीय संरचनामा गएपछि माध्यमिक तहसम्मका शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्न थालेका छन् । कतिपय स्थानीय तहले पाठयपुस्तक निर्माण गरेर पढाइसमेत सुरु गरिसकेका छन् ।

“अहिलेसम्म थारू भाषामा पाठ्यपुस्तक तयार भएको छैन,” महाशाखा प्रमुख गौतमले भने, “अब छिट्टै पाठ्यपुस्तक तयार हुने अवस्थामा रहेको छ।” कक्षा १ देखि ३ सम्म पढाइ सञ्चालन हुनेछ । आउँदो शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने तयारीमा भइरहेको प्रमुख गौतम बताउँछन् ।


यता आर्थिक समस्या भएपछि तुलसीपुरमा पढाइ हुँदै आएको मगर भाषाको पढाइ रोकिएको छ । तुलसीपुर उपमहानगरपालिका–१ भमकेमा रहेको वीरेन्द्र माविमा चार वर्षदेखि पढाइ हुँदै आएको मगर भाषाको पढाइ रोकिएको हो । स्थानीय रूपमा मगर भाषा बोल्ने मातृभाषीलाई ध्यानमा राखेर सुरु गरिएको पढाइ चालू शैक्षिक सत्रदेखि पढाइ स्थगित भएको विद्यालयका शिक्षक हिमाल थापा मगरले जानकारी दिए ।

मगर भाषाको पढाइका लागि तुलसीपुर–१ को वडा कार्यालयले बजेट व्यवस्थापन गर्दै आएको थियो तर चालू आर्थिक वर्षमा बजेट व्यवस्थापन नभएपछि मगर भाषाको पढाइ स्थगित भएको उनले बताए । पढाइ सञ्चालनका लागि वडा कार्यालयमार्फत हरेक वर्ष दुई लाख ५० हजार बजेट व्यवस्थापन हुँदै आएको थियो ।

नेपालमा मगर समुदायले ढुड, खामपाङ र काइके भाषा बोल्ने गर्छन् । दाङको भमकेमा भने ढुड भाषाको पढाइ हुँदै आएको थियो । पाठ्यक्रम विकास केन्द्रले ढुड, खामपाङ र काइके भाषाका पाठ्यक्रम तथा पुस्तक तयार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्प आउने हल्लाले रातभर जाग्राम

१६ माघ २०७९, सोमबार १२:४८
जुम्ला : भूकम्प आउन सक्ने भन्दै गलत हल्ला फैलिएपछि कर्णालीको मुगु, कालिकोट र जुम्लाबासी खुलामैदानमा रातभर जाग्राम बसेका छन् । उनीहरुले आफूलाई आवश्यक पर्ने सामान लिएर कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताएका हुन् । जुम्ला सदरमुकाम खलंगाको चोकचोकमा आगो बालेर सर्वसाधारण बसेका थिए । उनीहरुले कम्बल, महत्त्वपूर्ण सरसामान समेत आफैसँग […]