सुर्खेत : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले सुर्खेतस्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् ।
बिहीबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टोली लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीलाई आफ्नो परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नुपरेको समस्याबारे जानकारी लिएका थिए ।
मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरू आफ्नै सुरमा काम गरिरहेका थिए । त्यस अवसरमा मन्त्री रोकाया आफैँ विभिन्न फाँटमा पुगेर निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा दुईजना कर्मचारी आफूखुशी बिदामा बसेको पाइयो । त्यसै कारण कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि भेटिएनन् भने कर्मचारीहरू सरकारी पोशाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेको पाइयो ।
सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा पनि मन्त्री रोकायाले जानकारी लिए । उनले सेवाग्राहीसँग पनि समस्याबारे जानकारी लिएका थिए ।
मन्त्री रोकायाले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन समेत दिए । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
मन्त्री रोकायाले यातायात कार्यालय प्रदेश सरकारसँग जोडिएको निकाय भएकाले पनि यसको विषयमा हुने गरेको टीकाटिप्पणी अन्त्य हुनुपर्नेमा जोड दिए ।
यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्राहीको चाप अत्यधिक हुने गरेको तर आफूहरूले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरूलाई प्रवेशमा रोक लगाइएको मन्त्री रोकायालाई जानकारी गराए ।