चौतर्फी आलोचनापछि अन्ततः सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लियो

सदरलाइन संवाददाता १४ आश्विन २०८०, आईतवार १४:३०
 

 

नेपालगञ्ज :  चौतर्फी आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएपछि साविककै मूल्य कायम हुने भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको बारेमा जानकारी गराउदै सञ्चारमन्त्री रेखा शर्माले भनिन्,‘चाडपर्वको मुखमा जनताले चर्को मुल्य वृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुल्य वृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ । सम्भवत आयल निगमले केहीबेरमा सूचना निकाल्छ होला ।’


आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय ९५ रुपैयाँ हुनेछ ।

यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १ सय ८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १ सय ८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १ सय ८३ रुपैयाँ कायम हुनेछ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १ सय ७०.५, दोस्रो वर्गमा १सय ७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर हुनेछ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ नै कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टेलिभिजनको गरिमामय भूमिका

१४ आश्विन २०८०, आईतवार १४:३०
बाबा अक्षर भनेको के हो ? अनायासै बुनु मेरो छेवैमा आएर सोधी । किन बुनु ? म प्रतिप्रश्न गरेँ । बुनु मेरी छोरी । अहिले आठ कक्षामा पढ्दै छे । सम्बल प्रश्नको असम्बल उत्तर दिन मैले चाहिन । न म आफूले त्यति नदोहोरिएको अफवाहलाई अक्षरहरूको समूहबाट आफ्नो अज्ञानताको मुकुण्डोलाई छोप्न […]