बाँकेमा मातृ मृत्युदर कहाली लाग्दो

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १३:५६
 

नेपालगञ्ज : बाँकेमा मातृ मृत्युदर कहाली लाग्दो देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै आमाको मृत्यु भएको छ ।

त्यसमा पनि सुत्केरीपछि मृत्यु हुनेको संख्या ७२ प्रतिशत रहेको छ । सबैभन्दा धेरै मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समुहका आमा छन् । चालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा १५ जना आमाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाका ७ जना छन् ।

भेरी अस्पताल, मेडिकल कलेज लगायतका थुप्रै सुविधा सम्पन्न अस्पतालहरु भएको नेपालगञ्ज उपमहानगरपालिकामै आमाहरु असुरक्षित हुनुले यहाँको स्वास्थ्य अवस्थालाई समेत उदांगो बनाइदिएको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा मातृमृत्यु दर बढी देखिएको छ ।


स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १५ जनाले ज्यान गुमाइसकेका छन् । बढ्दो मातृ मृत्युदर रोक्न सबै सरोकारवालाबीचको समन्वय जरुरी रहेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा ६ जना आमा गुमाएको डुडुवा पालिकाले चालू आर्थिक वर्षको हालसम्म भने एक जना आमा गुमाएको छैन् । खजुरा र बैजनाथ गाउँपालिकामा पनि आमा मृत्युदर शून्य देखिएको छ । भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कल्पना थापाले मातृमृत्यु घटाउन नियमित गर्भजाँच, परिवारको उचित स्याहार जरुरी रहेको बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा मंगलवार नेपालगञ्जमा आयोजना गरिएको परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी कार्यक्रममा श्रेष्ठले सुत्केरीपछि हुने मृत्यु ७२ प्रतिशत रहेको बताइन् । त्यस्तै गर्भवतिमै मृत्यु हुने २८ प्रतिशत रहेको छ । यो हिसावले हेर्दा बच्चा जन्मिनु भन्दा बच्चा जन्मिसकेपछि धेरै आमाको मृत्यु भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्यो

३१ जेष्ठ २०७९, मंगलवार १३:५६
नेपालगञ्ज : पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप […]