बर्दिया : मंगलवार बिहानैदेखि बर्दियाको राजापुर–गुलरिया सडकखण्ड स्थानीयबासीहरूले अवरुद्ध गरेका छन् । बाघ नियन्त्रण र पीडित परिवारलाई क्षतिपूर्ति नदिएको बिरोधमा स्थानीयबासीहरूले मंगलबार बिहानैदेखि राजापुर–गुलरिया सडकखण्ड अवरुद्ध गरेका हुन् ।
सोमबार विहान करिब ९ बजे बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ सोनाहा गाउँमा आफ्नै खेतमा काम गरिरहेकी अवस्थामा अस्मिता थारुलाई बाघले आक्रमण गरेको थियो ।
थारुलाई बाघले आक्रमण गरेपछि बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले सोमबार दिउँसो साढे एक बजेदेखि ओराली बजारमा प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले सडक अबरुद्ध भएपछि सोमबार बेलुका ६ बजेतिर प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउन प्रयास गरेको थियो ।
सो क्रममा प्रहरी र स्थानीयबासी बीच भएको दोहोरो झडपमा १८ वर्षीया नविना थारुको मृत्यु भएको थियो ।