नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रबादी युवा समुहबीच झडप भएपछि धम्वोझी चोक तनाबग्रस्त भएको छ ।
सो झडपमा परेर नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका २ जना र सर्वसाधरणसहित एक दर्जन घाइते भएका छन् । राष्ट्रबादी युवा समुहले बिहीबार बिहान सो चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए ।
त्यस लगत्तै प्रहरीले शालिक हटाएपछि सोही समूहले न्यूरोडमा रहेको सहिद सेतु विकको शालिक तोडफोड गरेको छ । धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि प्रहरीले फायर समेत खोल्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
प्रहरीले सो कार्यमा संलग्न रहेका ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रोशित राष्ट्रबादी युवा समुहले सेतुविक चोकमा रहेको सहिद सेतुको शालिक समेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा समेत सुरक्षा सर्तकता बढाएको छ ।
आज राजा वीरेन्द्रको वंस नास भएको २१ वर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । राष्टबादी युवा समूह भनिएपनि राप्रपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । २०६२÷६३ को जनआन्दोलनमा विरेन्द्र चोकमा रहेको स्व. राजा विरेन्द्रको शालिक भत्काइएको थियो ।
यसैबीच नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राइले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपु¥याउन आग्रह गरेका छन् ।
उनीहरु दुबैले आपसी सहमतिमा सर्बपक्षिय सर्वदलिय छलफलबाट समाधान खोज्न सकिने बाटो हुँदा हुँदै जबरजस्ती गर्ने र सार्वजनिक सम्पत्ति तोलफोड गर्ने कार्य निन्दनिय भएको बताउदै संयमित भई निकास खोजिने बताए ।