नेपालगञ्जका मेयर उपमेयरले गरे काञ्जिहाउस निरिक्षण, पशुमैत्री बास्थान र पोसिलो आहारा व्यवस्थापन गर्न निर्देशन

सदरलाइन संवाददाता ९ जेष्ठ २०७९, सोमबार १६:३७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट तथा उपमेयर कमरुद्दीन राईले उपमहानगरले छाडा पशु व्यवस्थापनको लागि सञ्चालनमा ल्याएको नेपालगञ्ज–२१ मा रहेको काञ्जि हाउसको स्थलगत अवलोकन निरिक्षण गरेका छन् ।

पदभार ग्रहण गरेको दोस्रोदिन काञ्जिहाउस पुगेका नेपालगञ्ज उपमहानगरका मेयर विष्टले त्यहा रहेका गाई, बाच्छा, बाच्छिको अवस्था अत्यन्त दयनिय रहेको पाईएको बताए । उनले भने–‘ यहाँ रहका गाई बाच्छाबाच्छिको अवस्था हेर्दा अत्यन्त दयनिय रहेको पाईयो । नगरका छाडापशु व्यवस्थापनमा हाम्रो ध्यान गम्भीर रुपले केन्द्रित भएको छ । खासगरी छाडा रहेका गाईको संरक्षणमा हामी संवेदनशिल हुने छौ ।’

उनले काञ्जिहाउसमा रहेका गाई, बाच्छबाच्छिको अभिलेखिकरण गरी विरामी अवस्थाकालाई उपचार गर्ने र पोशिलो आहाराको व्यवस्थापन गरी पशुमैत्री बासस्थान निर्माणको लागि पहल गरिने कुरामा जोड दिए । उनले काञ्जिहाउसमा खटिएका कर्मचारीलाई रेखदेख र गाईको आहारामा विषेश ध्यान दिन निर्देशन समेत दिए ।

नेपालगञ्जको चर्को गर्मीमा गाईलाई ओत लाग्नको लागि निर्माण गरिएको टिनको सेड पनि पशुमैत्री नभएको बताउदै उपमेयर कमरुद्दिन राईले काञ्जिहाउसमा रहेका गाईको उचित व्यवस्थापन मिलाउन तत्काल पहल गर्ने र संरक्षणमा ध्यान दिने उद्देश्यले आफुहरु पदभार ग्रहण गरेकै दोस्रो दिन निरिक्षणमा पुगेको बताए ।

उनले भने–‘ काञ्जिहाउसमा रहेका गाईको संरक्षण र उनीहरुको उचित व्यबस्थापन गरी पोषिलो आहाराको ब्यवस्था गर्नको लागि उपमहानगरले कुनै कसर छोड्दैन ।’ उनले काञ्जिहाउसमा रहने गाईलाई लक्षित गरी चरी, बर्सिमलगायतका घाँसको खेती गर्नको लागि पनि उपमहानगरको आसपासमै जमिन भएकोले त्यसको लागि पनि आवश्यक तयारी गर्न निर्देशन समेत दिए ।


नगरमा छाडा रहेका पशुको व्यवस्थापन गर्नको लागि उपमहानगरले स्थापना गरेको काञ्जिहाउसमा पुराईएका पशुलाई पशुधनीले लिन वा खोज्न नआएपछि उनीहरुको पालन पोषणको जिम्मेवारी उपमहानगरले गर्दै आएको उपमहानगरका प्रमुख प्रशाशकिय अधिकृत जगत बस्नेतले बताए ।

उनले काञ्जिहाउसमा रहेका पशुको बासस्थान र साना बाच्छा बाच्छिको उचित व्यवस्थापन गर्न तत्कालै सुरु गरिने बताए । काञ्जिहाउसमा गाईलाई घाम र पानीबाट जोगिनको लागि टिनको सेड तयार गरिएको छ । सो सेडको फर्शमा सिमेन्ट लगाईएको कारण गाईहरु टिनको गर्मी र फर्शमा रहेको सिमेन्टको कारण पशुमैत्री नभएकोले गाई त्यसमा बस्न नरुचाएकोले तत्काल माटो राखेर गाईलाई बस्न मिलाउने उनले बताए ।

हाल सो काञ्जिहाउसमा गाई, गोरु, बहर, कोरेली गरी ८४ वटा, बाच्छाबाच्छि ११ वटा र १ वटा घोडाको बछेडो रहेको उपमहानगरपालिका काञ्जिहाउस शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले गरे पदभार ग्रहण

९ जेष्ठ २०७९, सोमबार १६:३७
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकाका नव निर्वाचित अध्यक्ष उपाध्यक्षले पदभार ग्रहण गरेका छन । पालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गरेका हुन । दोस्रो कार्यकालको लागि पदभार गर्दै गरेका पालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा विभिन्न ५ […]

सम्बन्धित