नाकामा रोकिएका उपकरण दैलेख पठाउने तयारी

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १७:२७
 

नेपालगञ्ज : दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम कार्यका लागि नेपालगञ्जको रुपईडिहा भन्सार नाकामा आएका ३० वटा ट्रक दैलेख जाने तयारी भएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार छुट पत्रमा खानी तथा भूगर्भ विभागकै नाम उल्लेख गरेर अनुमति प्रदान गरेपछि बाटो खुलेको हो ।

बुधबार अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्य प्रक्रिया शुरु भएको र अर्थबाट भन्सारमा पत्र जाने क्रम जारी भएकाले एक–दुई दिनमा रुपैडिया नाकामा रोकिएका करिब ३० वटा उपकरणसहितका ट्रक दैलेखका लागि हिँड्ने खानी तथा भूगर्भ विभागका प्रमुख दिनेशकुमार नापितले बताए ।

दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्यका लागि कोलकतामा ६० वटा ट्रक आइसकेका छन् । नेपालगन्जस्थित रुपैडिया नाकामा ३० वटा ट्रक पुगिसकेका छन् ।


अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन औजार, उपकरणलगायत दुई सयभन्दा बढी ट्रक दैलेख आउने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत दिनेशकुमार त्रिपाठीले जानकारी दिए ।

जिल्लामा सामान आउने रुटहरूको सफाइ गर्ने, मोड नमिलेका स्थानमा मोड मिलाउनेलगायतका अधिकांश काम सम्पन्न भइसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

चीनको जिओलोजिकल सर्भे कम्पनीको नाममा भन्सार छुट पत्र तयार गरिएको भए पनि उक्त पत्रमा नेपाल सरकार खानी तथा भूगर्भ विभागकै नाम समावेश गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा डेढ महिनाअघि नै पत्र पठाइएको थियो । अर्थ मन्त्रालयले निर्णय गरेसँगै अब अन्तिम अन्वेषणको काम सुरु हुने भएको छ ।

नेपालगन्जबाट सुर्खेतदेखि कर्णाली राजमार्ग हुँदै चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट मध्यपहाडी राजमार्गको सडक प्रयोग गरेर अन्वेषण स्थल दैलेखको जलजले आउनेछन् । यसपालिको अन्वेषणको सकारात्मक रिपोर्ट आएमा समग्र नेपालकै आर्थिक अवस्था सुधारमा यो परियोजना कोसेढुंगा साबित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठेकेदार बेपत्ता भएपछि स्थानीयद्वारा आन्दोलन

१ चैत्र २०८०, बिहीबार १७:२७
खजुरा (बाँके) : बाँकेको खजुरा स्थिति गौघाट परसपुर सडक बेवारिसे छाडेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका छन् । सडक सम्पन्न गर्ने म्याद ६ महिना बाँकी रहँदा १२ प्रतिशतमात्र काम गरेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका हुन् । स्थानीयले बिहीवार दिनभरीनै नेपालगञ्जको परसपुर गौघाट सडक बन्द गर्दै […]