नेपालगञ्ज : आफ्नो भाकल पुरा भएपछि वा आफुमा दैबी शक्तिको प्रभाव संचित गर्ने उद्देश्यले नेपालगञ्जको बागेश्वरी मन्दिरमा चैते दशै र बडा दशैको नवमीको दिनमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा चलिआएको छ ।
दशै वा चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका मुलपुरोहित चन्द्र नाथ योगीले जानकारी दिए ।
उनले भने–‘मेरो यो काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने चलन छ । तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनु प¥यो अरुलाई हानी हुने खालको भाकल भने पुरा हुनै सक्दैनन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेहरुको भिड रहन्छ ।’
उनले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको संख्या घट्दै गएको बताए । ‘पहिला पहिला मानिसहरु आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्ने भक्तजनहरु पनि थिए तर, अहिले यस्ता गरिदैन ’–उनले भने ।
उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे जानकारी दिए । बागेश्वरी मन्दिरमा बाँके, बर्दिया दाङ्ग, सुर्खेत र छिमेकी मुलुक भारतबाट पनि मानिसहरु दर्शन गर्न र जिब्रो चढाउन आउने गरेको पाईन्छ ।
बाँके खजुरा गाउपालिका–८ का ६५ वर्षिय रामखेलावन अहिरले ५० पटक भन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गरेको बताए । उनले भने–‘ सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटक भन्दा बढी भयो होला ।’ उनले यसरी देबीको दर्शन गर्दा आफुलाई शक्ति प्राप्त भएको महशुस हुने दाबी गरे ।
पानको पात र फलामको तिखो त्रिशुलले जिब्रो छेडेर त्यसैमा भएको पानको पात चबाउदा त्यसले इन्फेक्सन नहुने साथै दुखाई पनि कम हुने भक्तजनको भनाई छ ।
त्रिशुलले जिब्रो छेडेर देबीको दर्शन गर्दा पीडा पनि नहुने र रगत पनि नदेखिने बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षिय बर्मन लोनियाले बताए ।
उनले भने–‘ ५० भन्दा बढी पटक मैले जिब्रो छेडेर देबीकोे दर्शन गरेको छु । रगत पनि बगेको छैन नत, मलाई कुनै पीडा नै भएको छ ।’
बाँके डुडुवका–६ हिरमिनियाँकै २० वर्षिय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षिय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।
नेपालगञ्जको बागेश्वरी मन्दीरमा बडा दशै र चैतेदशैमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।