नेपालगञ्ज : कैलालीमा पासोमा परेर चितुवा मरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो ।
चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए ।
‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ उद्धारको काम गर्न नपाउदै चितुवा मरेको हो,’ रिजालले भने, ‘मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडिएको छ ।’ पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए ।
उक्त वन क्षेत्रमा पटकपटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन् । दुई वर्ष अगाडि घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर छाडा र मौहन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो ।