कोहलपुरमा दोहोरो झडप जारी, गोली लागेर एक घाइते

२२ मंसिर २०७६, आईतवार १५:२२
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा ना २ ख ९४५९ नम्बरको ट्रकले स्कुले बच्चालाई ठक्कर दिएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । आज विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थी प्रकृति चन्दलाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि तनावग्रस्त बनेको होे ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले घाइते बालिका चन्दलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाण्डौको बि एण्ड बि अस्पताल पठाउन लागिएको जानकारी दिए । घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गर्नुको साथै आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस तथा हवाई फायर गरेका छ ।



प्रदर्शनकारी र प्रहरीबीच अहिले पनि झडप भईरहेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर एक जना घाइते भएका छन् । घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ ।
घटना नियन्त्रण गर्ने प्रयासमा ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही सहित दर्जनबढी घाइते भएका छन् । यसैबीच कोहलपुर क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरिएको छ । केही बेरमै कर्फ्य आदेश जारी गर्ने बारे छलफल गर्न जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । घटनाबारे थप बिबरण आउन बाँकी छ ।

Next Post

कोहलपुरमा अनिश्चितकालीन निषेधाज्ञा

२२ मंसिर २०७६, आईतवार १५:२२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि बाँकेको कोहलपुर क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाएको छ । ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् । सोही घटनालाई लिएर […]