‘रक्त क्यान्सरको सुलभ र गुणस्तरिय उपचार नेपालमै संभव छ’

रुद्र सुवेदी ९ पुष २०७८, शुक्रबार १९:१८
 

नेपालगञ्ज : समयमा पहिचान र उपचार सुरु गरिए रक्त क्यान्सरको गुणस्तरिय र सुलभ उपचार नेपाल भित्रै संभव भएको सो क्षेत्रका विज्ञले दाबी गरेका छन् ।

कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका विरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा अजय कुमार झाले सो दाबी गरेका हुन ।

उनले समयमा रक्त क्यान्सरको पहिचान र उपचार सुरु गर्नसके नेपाल भित्रै यसको सुलभ र गुणस्तरिय उपचार संभव भएको दाबी गर्दै भने–‘रक्त क्यान्सरका विरामीहरु रोग पहिचान गर्नमा ढिलाई हुने हुँदा उनीहरुको उपचार महंगो हुनुको साथै नतिजा पनि हात नआउने हुँदा समयमै पहिचान र उपचार सुरु गर्दा क्यान्सर मुक्त हुनसक्छ ।’

उनले रक्त क्यान्सरका विरामीहरुको उपचारको लागि विज्ञ चिकित्सक अत्यन्तै न्यून रहेको र उनीहरु पनि काठमाण्डौ उपत्याकामै केन्द्रित रहदा यसको उपचारमा विरामीको पहुँच पुग्न कठिन भएपनि आफुहरुको समिपमा आउने विरामीलाई सहजै उपचार दिन सकिने बताए । ‘स्थानीय, प्रदेश र संघीय सरकार सहकार्यबाट कम खर्चमा रक्त क्यान्सरको उपचार हामी कहा नै संभव रहेको छ । राज्यले यसको उपचारको लागि विभिन्न खालका रणनीतिक योजना निर्माण गर्न आवश्यक रहेको छ’– उनले भने ।

उनले रक्त कोषिकाको असामान्य विकासलाई रक्त क्यान्सर भन्ने जानकारी दिदै सामान्यतया रक्तक्यान्सर दुई प्रकारका हुने बताए । एएलएल (एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया) यो १६ वर्ष उमेर मुनीका बालबालिकामा धेरै देखिनुको साथै प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७०–७५ प्रतिशत विरामी क्यान्सर मुक्त हुनसक्ने बताए । उनले उपचार गर्न साधारणतयाः दुईदेखि तीन लाख रुपैया खर्च लाग्ने डा. झाले बताए ।


यसैगरी एएमएल (एक्युट माइलोइड ल्युकेमिया) विशेषगरी १६ वर्ष माथिका व्यक्तिहरुयुवा तथा वृद्धवृद्धामा देखिने र उही उपचार भएमा ५० देखि ६० प्रतिशतसम्म निको हुने डा झाको भनाई छ ।

उनले बोनम्यारो प्रत्यारोपण गरेमा यस्ता विरामी बाच्ने सम्भावना ६० देखि ६५ प्रतिशतसम्म हुने जानकारी दिदै यस किसिमको क्यान्सरको उपचार पद्धति जटिल तथा महँगो हुने बताए । बोनम्यारो प्रत्यारोपणबाट उपचार गर्न कम्तीमा पनि सातदेखि आठ लाख रुपैयाँ खर्च लाग्ने, वृद्धवृद्धामा समेत सामान्य मानि ने यस्ता क्यान्सरमा विरामीकोे आयु लम्याउने गरी उपचारको विधि अपनाइने बताए ।

रगत क्यान्सरको जटिल समस्याबाट उपचारपछि क्यान्सर मुक्त भएका प्यूठान नगरपालिका–१ का ५३ वर्षिय मिनबहादुर बस्नेतले आफुलाई लागेको रोगको जानकारी पाएपछि बाँच्ने आशा मरेको तर, भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचारपछि आफु निको भएको बताए ।

बैदेशिक रोजगारमा रहेका उनी तीन वर्ष अघि रक्त क्यान्सरबाट ग्रशित भएको खुलेको थियो । उनी रक्त क्यान्सरमा एएमएल (एक्युट माइलोइड ल्युकेमिया) बाट ग्रसित रहेको र डा झा कै प्रत्यक्ष निगरानीमा उपचार गराएपछि आफु क्यान्सर मुक्त भएको बताए ।

नियमित स्वास्थ्य परिक्षणमा नेपालगञ्ज पुगेका बस्नेतले आफुले नयाँ जीवन नै पाएको बताए । निकै जटिलखालको क्यान्सरका रोगी धेरै भेटिने गरेको र यसको समयमै उपचार सम्भव नभए मानिसहरु मृत्युको मुख पुग्न सक्ने खतरा अधिक हुने डा. झाको भनाई छ । उनले नेपालगञ्जको कान्ति आरोग्य अस्पतालमा आफु हरेक महिना नियमित रुपमा दुईदिन उपलब्ध हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया युनेस्को क्लब टपरा गठन

९ पुष २०७८, शुक्रबार १९:१८
बर्दिया : बर्दियामा सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ । राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । क्लबको तदर्थ […]