काठमाण्डौ : इण्डोनेशियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ ।
दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानका लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।
दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवनमा सारिएको छ ।
ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएका छन् । अधिकारीले भारी उपकरण प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।