नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेमा आगामी मंसिर २ गते हुने नेपालगञ्ज उपमहानगरपालिकाको सभापति पदका लागि त्रिपक्षिय भिडन्त हुने देखिएको छ । उपमहानगरमा नेतृत्वको लागि मंसिर २ गते निर्वाचन हुँदै छ ।
बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरको नेतृत्वको लागि बर्तमान नगर सभापति प्रशान्त विष्टले तेस्रो ईनिङ्गको लागि प्रतिष्पर्दामा उत्रेका छन् । उनी संस्थापन पक्षका हुन । उनको प्यानलबाट उपाध्यक्षमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ, हरीबाबु घिमिरे उपसचिवमा सरदराज अधिकारी र मार्टिी ओली क्षेत्री चुनावी मैदानमा होमिएका छन् ।
यसैगरी संस्थापन पक्षबाटै तरुण दलका जिल्ला सचिव समेत रहेका विनोद रिजालले पनि आफ्नो दह्रो दावेदारीका साथ चुनावी मैदानमा होमिएका छन् । उनको प्यानलबाट उपसभापतिमा अतुल गुप्ता र किननुरे मुल्तकिम (शाहील) र सहसचिवमा मनमोहन लम्साल र नर्मदा शाही चुनाबी मैदानमा होमिएका छन् । यो प्यानलबाट सचिवको टुंगो लागि नसकेको सभापतिका प्रत्यासी रिजालले बताए ।
संस्थापन ईतर पक्षबाट नेपालगञ्ज उपमहानगरका उपप्रमुख समेत रहेकी उमा थापामगर पार्टीको उपमहानगर सभापतिका लागि चुनावी मैदानमा होमिएकी छन् । उनको प्यानलबाट सचिवमा मात्र १ जना उम्मेदवारको टुंगो लागेको छ । सचिवमा रबिन्द्र घिमिरे चुनावी मैदानमा उत्रिएका छन । दुई उपसभापति एक सचिव र दुई सहसचिवमा उम्मेदवार छनौटको लागि पहल भई रहेको युवा नेता विमल चन्दले बताए ।
संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा भिड्दा त्यसको लाभ संस्थापन ईतर पक्षकी उम्मेदवार थापामगरले उठाउने सम्भावना बढी रहेको बताइन्छ । थापामगर संस्थापन इतरमा कोइराला परिवार निकट छिन् । सबै उम्मेदवारहरु अहिले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्न व्यस्त छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् ।
बाँकेमा पालिका अधिवेशन मंसिर २ गते हुनेछ । उम्मेदवारी दर्ता भने मंसिर १ गते नै हुनेछ । निर्वाचन समितिले १३ जिल्लाको नगर अधिवेशन कात्तिक ३० का लागि तोकेको थियो । तर, बाँकेमा नगर अधिवेशन दुई दिन ढिलो हुने भएको छ । बाँकेमा कात्तिक २७ का लागि तोकिएको वडा अधिवेशन एक दिन ढिलो सम्पन्न भएको थियो ।
बाँकेको वडा अधिवेशनमा संस्थापन इतरबाट बढी विजयी भएको सो पक्षको दाबी छ । नेपालगञ्ज उपमहानगरपालिकाको अधिवेशनमा ३३६ जनाले मतदान गर्नेछन् ।