डुङ्गा दुर्घटनामा बेपत्ता बालकको अवस्था अझै अज्ञात

सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १५:०७
 

धनगढी : महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए ।

बेपत्ता भएको सन्दीपको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनाका साथै भारतीय प्रहरीसँगसमेत सहयोग मागिए पनि सन्दीप अझै फेला परेका छैनन् ।

डुङ्गा चढेर भारततर्फ गइरहेका बेला कात्तिक १० गते दुर्घटना हुँदा शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने मृत्यु भएको थियो । दुर्घटनामा परेर बेपत्ता भएकी मीना पनि कात्तिक ११ गते महाकाली नदीको पारी भारतमा मृत फेला परेकी थिइन् । उनको सोही दिन भारतमै आफन्तले अन्तेष्टी गरेका थिए । दशजना सवार डुङ्गा पल्टिँदा आठजना पौडिन सफल भएका थिए ।


पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले कात्तिक १० गते भारत जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको थियो ।

महाकाली नदीमा पुल नहुँदा तल्लो सोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएको छ । भारत आवतजावत गर्दा महाकाली नदीमा पुल नहुँदा डुङ्गाको सहायताले स्थानीयवासी वार पार गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुल्यो

२८ कार्तिक २०७८, आईतवार १५:०७
नेपालगञ्ज : रत्न राजमार्गअन्तर्गत् अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुलेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु भएपछि आफन्त र स्थानीयले वानियाभारमा मध्यान्ह सडक अवरुद्ध गरेका थिए । तीन दिनअघि मोटरसाइकलको ठक्करबाट बाँके बैजनाथ गाउँपालिका ४ वानियाभारका ६३ वर्षीय वीरबहादुर वली घाइते भएका थिए । उनको उपचारका क्रममा कोहलपुुर मेडिकल कलेजमा […]