खजुरा (बाँके) : लुम्बिनी प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय बाँकेको खजुरामा निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिगाहा जग्गामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण हुने भएको हो ।
संघ र प्रदेशको करिब ५० करोड लगानीमा निर्माण हुने भनिए पनि अहिले जम्मा १० करोड मात्र निकासा भएकोले काम गर्न शुरु नभएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले बताए । आर्थिक सहयोग जुटेपछि काम शुरु हुने उनले बताए ।
आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको छ । खजुरा क्षेत्रका स्थानीयले आफूहरूको उचित व्यवस्थापन हुने गरी काम गर्न आग्रह गरेका छन् । हाम्रै गाँउघरमा हामीले राम्रो शिक्षा हासिल गर्न पाउने भयौ भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।
प्रदेशको गौरवको योजनाका रूपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुग्ने भएको भन्दै सबैको सहयोग आवश्यक भएको उनहीहरुले बताएका छन् ।
त्यस क्रममा खजुरा गाउँपालिकाका अध्यक्ष बिकले विश्वविद्यालय निर्माणको काम शुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने विश्वास दिलाएका छन् ।