नेपालगञ्ज : बाँके प्रहरीले राप्तीसोनारी गाउपालिका वडानं. ५ बाट ४ थान हतियार सहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार राप्तीसोनारी–५ जवारपुरका स्थानीय ऋषिराम थारुको घरबाट एकथान बारबोर, २ थान भरुवा बन्दुक, एकथान नालकटुवा र सो बन्दुकमा प्रयोग हुने गोली बारुदलगायतको समाग्री करिव २ किलो र ३ थान जरायोको सिंग सहित थारुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका थारु नेकपा माओवादी बैद्य समुहका केन्द्रीय सल्लाहकार समिति सदस्य समेत हुन । उनी गत निर्वाचनमा सो क्षेत्रबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए । थारुको घरमा अबैध हतियार लुकाई छिपाई राखिएको सूचनाको आधारमा ईप्रका बैजापुर धामपुरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक फत्तेसिंह थारुको कमाण्डामा छापा मार्दा सो हतियार बरामद भएको प्रहरी निकट स्रोतले जानकारी दियो ।
यसैबीच बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले सो घटनाको पुष्टि गरेका छन् । उनले प्रहरीले ऋषिरामथारुको घरबाट केही थान हतियार सहित थारुलाई पक्राउ गरेको बताए ।