नेपालगञ्ज : नेपालगञ्ज म्याराथनको सातौ संस्करण आगामी मंसिर ४ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिवार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिवार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा नेपालगञ्ज म्याराथन डट कम वेभसाइटको शुभारम्भ गरे ।
शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जानएको छ बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने छ । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । नगद पुरस्कार राशीमा वृद्धि गरिने बताईएको छ ।
‘पुरस्कार राशीमा वृद्धि अवश्य हुनेछ, साथै हामी यसबर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दैछौं’ अध्यक्ष ठकुरीले भने–‘विद्युतीय प्रविधिको प्रयोग भरपुर सदुपयोग गरी म्याराथनको स्तरोन्नति गरेर अगाडि बढ्दैछौं, वेभसाइटमाथि लगानी पहिलो प्रयास हो ।’
म्याराथन विजेताका लागि बर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरुसँग परामर्श गरिरहेको पनि उनले बताए ।
नेपालगन्ज उपमहानगर उपप्रमुख उमा थापामगरले नेपालगञ्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् ।
टाइटल स्पोन्सर केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले नेपालगञ्ज म्याराथनसँग पाँचौं संस्करणदेखि निरन्तर जोडिन पाएकोमा बैंक परिवारले गौरवको अनुभुति गरेको बताए ।
फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाले हरेक सहभागीले फोन पे नेटवर्क प्रयोग गरी दर्ता शुल्क भुक्तानी गर्न सकिने भएकाले सबैलाई सहज हुने धारणा व्यक्त गरे ।