नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

सदरलाइन संवाददाता २४ भाद्र २०७८, बिहीबार १३:४५
 

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति रहेकी छन् ।

समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

देशको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रूपमा शर्माले तीन वर्षे कार्यकालका लागि बिहीवारदेखिनै औपचारिकरूपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्ने छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते बिहीवारदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।


नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निसान भगवतीको पूजाअर्चना गर्नेछन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । बिहीवारनै पदबहाली, रथीवृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल बिहीवार सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालिम र आर्थिक पारदर्शीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसकेका छन् । उनको सम्मानमा सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोहको आयोजना हुनेछ ।

महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवम् सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेका छन् ।

युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् । उनीले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका शर्माको सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र निर्णय गर्ने क्षमताबाट सङ्गठनले भरपूर लाभ लिनेछ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उनको प्रमुख कार्यभार रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको एक विद्यालयमा बिज्ञान प्रयोगशाला स्थापना

२४ भाद्र २०७८, बिहीबार १३:४५
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित शहिद स्मारक माध्यमिक बिद्यालय कम्दीमा पहिलो पटक बिज्ञान प्रयोगशाला निर्माण गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाको अनुदान रकमबाट बिज्ञान प्रयोगशाला निर्माण गरिएको हो । पाँच लाख बराबरको प्रयोगशाला सामग्री र आठ वटा टेबुल, ३१ वटा कुर्सीको एक लाख […]

सम्बन्धित