टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान

सदरलाइन संवाददाता १३ माघ २०७९, शुक्रबार १५:५८
 

दाङ : सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ । शुक्रवार दिउँसो धावनमार्गमा उडान परीक्षण गरिएको हो । उडानपछि प्रतिक्रिया दिँदै विमानचालक रविन्द्र डङ्गोलले धावनमार्गको लम्बाइ थप गर्न सके पूर्णरुपमा यात्रु राखेर सञ्चालन गर्न सकिने बताए ।

उनले धावनमार्गको उत्तरतर्फबाट विमान ल्याण्ड गर्नका लागि केही घरमा राखिएका पानी ट्याङ्की हटाउन सके सहज हुने बताए । उनले धावनमार्गमा चराचुरुङ्गी गतिविधि बढी देखिएकाले गतिविधि न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । उनले धावनमार्गको लम्बाइ दुई सय मिटर बढाउन सके उडानमा सहज हुने बताए ।

सीता एयरका प्रबन्धक राजेन्द्रबहादुर सिहंले विमान चालकको रिपोर्टपछि एक हप्ताभित्रै सेवा नियमित गरिने बताए । उनले हप्तामा एक दिन र यात्रुको चापको अवस्था हेरेर सेवा बढाउँदै लैजाने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उडानका क्रममा देखिएका समस्या समाधानमा तत्कालै प्रक्रिया अघि बढाउने बताए । उनले धावनमार्ग बढाउने र विमास्थल वरपर रहेका रुख हटाइने बताए । उनले सेवा निरन्तरताका लागि जुनसुकै सहयोग गर्ने बताए ।


२०११ सालमा सञ्चालनमा आएको विमानस्थलमा सात सय ५० मिटर कालोपत्रे छ । हाल नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्विनअटरले साताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार तुलसीपुर उडान गर्दै आएको छ ।

निजी विमान सञ्चालनमा आएपछि उडान सङ्ख्या बढ्ने र भाडा घट्ने अपेक्षा गरिएको छ । करिब दश करोडको लागतमा टरिगाउँमा इन्धन डिपो स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । तर भाडा भने अहिलेसम्म घटेको छैन ।

अहिले दाङदेखि काठमाडौंको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपियाँ र काठमाडौंबाट दाङको न्यूनतम नौ हजार रुपैयाँ र अधिकतम १२ हजार रुपियाँभन्दा बढी भाडा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा दुईवटा विधेयकसहित झन्डै एक दर्जन प्रस्ताव स्वीकृत

१३ माघ २०७९, शुक्रबार १५:५८
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विधेयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको शुक्रवार बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगर प्रमुख आचार्यले कोहलपुर […]

ताजा अपडेट